विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१५ स्थित जुटमिल पछाडिको खाली जमिनमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई जना घाइते भएका छन्।

आइतबार बिहान करिब ११ः३० बजे फोहोर सफा गर्ने क्रममा जमिनमा गाडिएको पुरानो सकेट बमजस्तो देखिने वस्तु पड्किएको प्रहरीले जनाएको छ। विस्फोटमा विराटनगर–१५ की ४० वर्षीया नजवा खातुन र उनका ६५ वर्षीय ससुरा हैदर अली घाइते भएका छन्।

ADVERTISEMENT

मोरङका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार विस्फोटको छर्रा लागेर खातुनको दुवै हात र छातीमा सामान्य चोट लागेको छ। अलीको बायाँ हात र दाहिने खुट्टामा चोट लागेको छ।

ADVERTISEMENT

घटनालगत्तै सीमा प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले दुवै जनाको उद्धार गरी उपचारका लागि स्थानीय जितु मेडिकल पठाएको थियो। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुमानअनुसार जमिनमा पहिलेदेखि गाडिएर रहेको पुरानो सकेट बमजस्तो वस्तु फोहोर सफा गर्ने क्रममा चलाउँदा विस्फोट भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।