काठमाडौं । नेकपा एमाले का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता खारेज गर्ने केन्द्रीय कमिटीको निर्णय सच्याउन माग गरेका छन्।
बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको ५५औं सचिवालय बैठकमा उनले केन्द्रीय कमिटीको निर्णय स्वेच्छाचारी भन्दै फरक मत दर्ज गरेका हुन्। उनले उक्त फरक मतमा विधानको धारा ७८ अनुसार छलफलको मागसमेत गरेका छन्।
पोखरेलले एमाले केन्द्रीय कमिटीको नवौं बैठक ९५–६ साउन २०८२० मा छलफलको एजेन्डामै नराखिएको विषयमा एकैपटक निर्णयका रुपमा सार्वजनिक गरिएको भन्दै त्यसमा आपत्ति जनाएका छन्।
२०८१ सालको प्रारम्भमै केन्द्रीय संगठन विभागद्वारा नवीकरण गरिएको भण्डारीको पार्टी सदस्यता खारेज गर्ने निर्णय केन्द्रीय कमिटी बैठकमा सुनाइएको उल्लेख गर्दै उनले त्यस्तो निर्णयले पार्टीभित्र अस्वस्थता र स्वेच्छाचारितालाई बढावा दिने मत राखेका छन् ।
भण्डारी चीन भ्रमणमा जाँदा पनि पार्टी नेतृत्वको सल्लाह, योजना र एमालेकै प्रतिनिधिका रूपमा गएको भन्दै उनले अहिले आएर उनको सदस्यता नरहेको भनी निर्णय सुनाउनु गलत भएको जिकिर पनि गरेका छन्।






