काठमाडौं,  नेकपा (एमाले) केन्द्रीय कमिटी निर्वाचनमा पराजित नेता ठम्मर बिष्टले पार्टीका सबै जिम्मेवारीसहित सदस्यताबाट समेत राजीनामा दिएका छन्। उनले पार्टी नेतृत्व, विशेषत अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति असहमति जनाउँदै पार्टी छाड्ने निर्णय गरेको घोषणा गरेका हुन्।

राजीनामा पत्रमा उनले जेन्जी आन्दोलनपछिको राजनीतिक परिस्थितिमा एमाले नेतृत्व भ्रष्टाचार, अनियमितता र जनउत्तरदायित्वका सवालमा जनताबाट टाढिँदै गएको आरोप लगाएका छन्। पार्टीभित्र लोकतान्त्रिक अभ्यास कमजोर हुँदै गएको, आलोचनालाई दमन गरिने र फरक मत राख्नेहरूलाई योजनाबद्ध रूपमा पाखा लगाइने प्रवृत्ति बढेको उनको दाबी छ।

उनले मंसिर २४ गते अध्यक्ष केपी शर्मा ओलीसँग भएको वन–टु–वन छलफलको प्रसंग उल्लेख गर्दै पार्टी अध्यक्षबाट आफूले सम्मानजनक व्यवहार नभई ‘दास र मालिक’ जस्तो व्यवहार अनुभूति गरेको बताएका छन्। आफ्नो आलोचना रचनात्मक र संस्थाको हितमा भए पनि त्यसलाई नकारात्मक रूपमा लिइएको उनको भनाइ छ।

बिष्टले हालै सम्पन्न एमालेको ११औँ महाधिवेशनमा उम्मेदवार छनोटदेखि निर्वाचन प्रक्रियासम्म शक्ति, साधन र स्रोतको चरम दुरुपयोग भएको आरोप समेत लगाएका छन्। अध्यक्षको निर्देशनमा उम्मेदवार सूची बाँडिएको, साम,दाम,दण्ड,भेदको प्रयोग गरेर आफूजस्ता नेता तथा कार्यकर्तालाई पराजित र बाहिरिन बाध्य पारिएको उनको आरोप छ।

यद्यपि उनले एमालेमा रहँदा सहयोग गर्ने अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता ईश्वर पोखरेललगायत सबै नेताहरूप्रति धन्यवाद व्यक्त गरेका छन्। साथै निर्वाचनमार्फत निर्वाचित अध्यक्षसहित सम्पूर्ण केन्द्रीय नेतृत्व र प्रदेशस्तरका नेताहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।

बिष्टले आफूले पार्टीभित्र लामो समय निष्ठा, श्रम र योगदान दिएको स्मरण गराउँदै कुनै व्यक्तिगत स्वार्थ, भ्रष्टाचार वा अन्य विवादबाट बच्न पार्टी नछाडेको स्पष्ट पारेका छन्। पार्टीभित्र समायोजन भएर आएका नेताकार्यकर्तालाई दोस्रो दर्जाको व्यवहार गर्ने प्रवृत्ति पनि अहिलेको अवस्थाको एउटा प्रमुख कारण बनेको उनको भनाइ छ।

पार्टी नेतृत्व व्यक्तिवादी, अधिनायकवादी र विचार मूल्यबाट विचलित हुँदै गएको निष्कर्ष निकाल्दै उनले यस्तो अवस्थाको ‘मलामी’ बन्न नसक्ने भन्दै केन्द्रीय तहमा निर्वाह गर्दै आएको भूमिका लगायत पार्टीका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन्।