काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेका छन्। उनलाई सोमबार सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा पक्राउ गरिएको स्रोतले जनाएको छ।
पार्टीको चुनावी समीक्षा तथा पुनर्गठन कार्यदलको सुझाव संकलनअन्तर्गत आयोजित प्रदेशस्तरीय कार्यक्रममा सहभागी हुन सुर्खेत पुगेका पौडेललाई सोही क्रममा नियन्त्रणमा लिइएको बताइएको छ।
यसअघि अनुसन्धान टोलीले काठमाडौंको भैसेपाटीस्थित पौडेलको निवासमा समेत छापा मारेको जनाइएको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानको सिलसिलामा आवश्यक कागजात तथा विवरण संकलन गरिएको स्रोतको दाबी छ।
पौडेलको पक्राउबारे सम्बन्धित निकायले औपचारिक जानकारी सार्वजनिक गर्न बाँकी रहेको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।