काठमाडौँ। वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत बिरामीको निधनपश्चात् उत्पन्न परिस्थिति र त्यसलगत्तै चिकित्सकहरूमाथि भएको भौतिक आक्रमण (कुटपिट) को घटनाप्रति नेकपा एमालेले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
उक्त घटनाविरुद्ध चिकित्सकहरूले विभिन्न माग राखी देशभरका अस्पतालहरूमा ओपीडी सेवा ठप्प पार्दा नागरिकहरू स्वास्थ्य सेवा पाउने आफ्नो संवैधानिक एवम् मौलिक अधिकारबाट वञ्चित हुन पुगेको एमालेले जनाएको छ।
एमालेले उक्त घटनालाई गम्भीर, संवेदनशील र चिन्ताजनक भनेको छ । ‘यस्तो विषम र संवेदनशील परिस्थितिमा पनि वर्तमान सरकार पूर्णतः उदासीन, गैरजिम्मेवार र मूकदर्शक बनेको छ ।
जनताको स्वास्थ्यजस्तो संवेदनशील विषयमा सरकारले देखाएको यो चरम उदासीनताप्रति हाम्रो पार्टी खेद व्यक्त गर्दछ’, एमाले महासचिव शंकर पोखरेलले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको पेसागत एवम् शारीरिक सुरक्षाको पूर्ण ग्यारेन्टी गर्नु राज्यको प्राथमिक दायित्व भएको स्मरण गराउँदै कार्यस्थलमा बिना कुनै भय र त्रास सेवा दिने वातावरण तुरुन्त निर्माण गर्न माग गरेको छ।






