काठमाडौं । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिबेला भैरहवा कारागारमा छन् । जिल्ला अदालत रुपन्देहीले धरौटीमा छाडे पनि उच्च अदालत बुटवलले पुर्पक्षमै बसेर मुद्दा लड्न आदेश दिएपछि रवि थुनामा पुगेका हुन् ।

रविलाई राज्यले प्रतिशोध साँधेको भन्दै रास्वपाले हस्ताक्षर अभियान नै चलाएको छ । साथै, उसले चन्दा संकलन पनि गरिरहेको छ । रास्वपाले निर्वाचन आयोगलाई जानकारी गराएरै हस्ताक्षर र चन्दा संकलन अभियान चलाएको जनाएको छ । अदालतले नै पुर्पक्षमा पठाएको व्यक्तिका लागि हस्ताक्षर र चन्दा उठाउनुले रास्वपाले कस्तो राजनीतिलाई प्रश्रय गर्न चाहन्छ भन्दै विरोध भइरहेको छ ।

ADVERTISEMENT

रास्वपाले बिहीबारसम्म रविको पक्षमा २४ लाख ५७ हजार ६१८ जनाले हस्ताक्षर गरेको जानकारी दिएको छ । उसले असार ७ गतेदेखि हस्ताक्षर अभियान सुरु गरेको थियो । दैनिक एक लाखको संख्यामा हस्ताक्षर हुनुलाई सामान्य मानिएको छैन । रास्वपाले देशभरका विभिन्न सहरमा डेस्क राखेर हस्ताक्षर अभियान चलाएको छ । तर घन्टी घर (रास्वपाको केन्द्रीय कार्यालय) मा जस्तो अन्यत्र मान्छेले हस्ताक्षर गरेको देखिन्न । त्यसैले रास्वपाले गरेको दाबीमा शंका उत्पन्न गर्नुपर्ने प्रशस्त ठाउँ रहेको सर्वसाधारण बताउँछन ।

रास्वपाका नेता दीपक बोहराले हस्ताक्षर अभियानका लागि सहयोग रकम ४६ लाख १२ हजार ६३७ रुपैयाँ संकलन भएको बताएका छन् । रविको अपिल र हस्ताक्षर फारम छाप्नेलगायत अभियानका लागि अहिलेसम्म ५९ लाख ६८ हजार खर्च भएको पनि उनले जानकारी दिएका छन् ।

ADVERTISEMENT

हस्ताक्षर अभियानका लागि रास्वपाले रविको फ्लेक्स र एउटा हस्ताक्षर पुस्तिका र डटपेन राखेको छ । यतिमै झन्डै ६० लाख खर्च भएको भन्ने दाबीलाई धेरैले पत्याएका छैनन् । रास्वपाले क्युआर कोड र भौतिक रूपमा पनि पैसा उठाइरहेको छ ।