काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र बृहत् एकता गर्ने विषयमा महत्वपूर्ण राजनीतिक सहमति भएको छ। सहमति अनुसार पार्टीको केन्द्रीय सभापतिमा रवि लामिछाने नै रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र (बालेन) शाह रहने तय भएको छ।
सहमतिमा नवयुवाहरूले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको अपनत्व लिँदै आन्दोलनका क्रममा घाइते तथा शहीद परिवारका मागहरूलाई यथोचित रूपमा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। साथै, समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्य प्राप्तिका लागि गहिरा नीतिगत, संस्थागत तथा संरचनात्मक सुधारमार्फत आगामी दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम-आय भएको राष्ट्र बनाउने मार्गचित्र इमान्दारीपूर्वक कार्यान्वयन गर्ने उल्लेख छ।
बृहत् एकतापछि स्थापित हुने राजनीतिक दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहनेछ। पार्टीको झण्डा साविककै निलो पृष्ठभूमिमा सेतो गोलाकारभित्र निलो रङको घण्टीको आकृतिसहित कायम रहनेछ भने चुनाव चिन्ह पनि ‘घण्टी’ नै रहने सहमति भएको छ। पार्टीको केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहनेछ।
सहमति अनुसार पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता तथा अनुभवी विज्ञहरूलाई समुचित रूपमा समायोजन गरिनेछ। जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई मुख्य आधार बनाइने जनाइएको छ।
आसन्न आमनिर्वाचन लगत्तै यस सम्झौता बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टीसम्बन्धी आवश्यक सबै दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गरिने पनि सहमतिमा उल्लेख छ। साथै, लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दामा गोलबद्ध हुन अन्य परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई रास्वपाले आह्वान गर्ने निर्णय गरिएको छ।