काठमाडौँ । बुटवलको सुप्रिम सहकारी ठगीमा हाल कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालत तुलसीपुर बुटवल इजालसले आदेश दिएको छ ।
तुलसीपुर उच्च अदालत, बुटवलको १ नम्बर इजलासमा मुख्य न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश तेजनारायण पौडेलको इजलासले बिहीबार यस्तो आदेश दिएको हो ।
रवि र पूर्वडीआईजी तथा तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ केहीबेर अघि मात्र सकिएको थियो । पटकपटकको पेसी स्थगित भएर बिहीबार सुनुवाइ भएको हो ।
रवि र छविले सुप्रिम सहकारी ठगीमा जिल्ला अदालतले कायम गरेको मूल बिगोमध्ये आफ्नो भागमा परेको बिगो रकम बुझाएर थुनामुक्त हुन माग गर्दै उच्च अदालतमा रिट निवेदन दिएका थिए । उच्चले बिगो बराबर २ करोड ६८ लाख रुपैयाँ धरौटी माग गर्ने आदेश गरेको हो । उच्च अदालतले मागेकाे बिगो बुझाएर रिहा गर्न आदेश दिएकाले रवि धरौटी बुझाएर आजै थुनामुक्त हुनेछन् ।
रवि हाल ललितपुरको नक्खु कारागारमा छन् । जोशी भने भैरहवा कारागारमा छन् । रविलाई गत चैत २२ गते पक्राउ गरी भैरहवा कारागार लगिएकाे थियाे । उनी नाै महिनापछि कारागारबाट रिहा हुन लागेका हुन् ।








