काठमाडौं। उपत्यकाको सबैभन्दा ठूलो सांस्कृतिक पर्व इन्द्रजात्रा यस वर्ष पनि भव्यतापूर्वक मनाइँदै छ। यस पर्वमा आज मजिपा लाखे आजु (शान्त भैरव) को नृत्य विशेष आकर्षण बनेको छ। रातो ख्वापा (मुखौटा) र रंगीन शृंगारयुक्त पोशाकमा सजिएका लाखेले परम्परागत शैलीमा प्रस्तुत गरेको नृत्यले दर्शकलाई मन्त्रमुग्ध बनाएको छ ।
नेवार लोककथाअनुसार मजिपा लाखेलाई बालबालिकाको रक्षक मानिन्छ। नृत्यमा लाखेले “झ्यालिंचा” भनिने पात्रलाई रमाइलो गर्दै पछ्याउने दृश्यले भीडलाई झनै उत्साहित बनाएको थियो।
इतिहास अनुसार, लाखे वास्ताबमा राक्षस थियो । तर, काठमाडौंको मजिपा टोलमा बस्दै देवी तलेजुको आदेशअनुसार बालबालिकाको रक्षक बन्ने वाचा गरेपछि, उनीहरूको नृत्य सांस्कृतिक परम्पराको अभिन्न अंग बन्यो। रञ्जितकार समुदायका पुरुषहरूले यो परम्परालाई पुस्तौपुस्ता देखि निरन्तरता दिँदै आएका छन्
मजिपा लाखेले पहिरिने ख्वापा र पोशाकलाई विशेष पूजा गरेर मात्रै प्रयोग गर्ने परम्परा रहेको छ जुन आजसम्म पनि कायम छ। यसरी प्रस्तुत हुने लाखे नृत्यले काठमाडौंको सांस्कृतिक पहिचानलाई जीवित सम्पदाको रूपमा जोगाइरहेको छ।

तस्बिरहरू: सफल प्रकाश श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी










