ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण शुक्रबारदेखि सुरु भएको छ। “सक्षम सांसद, सशक्त संसद” भन्ने नारासहित सुरु गरिएको प्रशिक्षण कार्यक्रम ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा आयोजना गरिएको हो।
रास्वपाको केन्द्रीय प्रशिक्षण विभागद्वारा सञ्चालन गरिएको प्रशिक्षण कार्यक्रम वैशाख २६ र २७ गतेसम्म चल्नेछ। कार्यक्रममा पार्टीका सांसदहरूसहित शीर्ष नेताहरूको सहभागिता रहेको छ।
प्रशिक्षणमा पार्टीका उपसभापति तथा अर्थमन्त्री स्वर्णिम वाग्ले, महामन्त्री कबिन्द्र बुर्लाकोटी, भूपदेव शाह, सहमहामन्त्री विपिन आचार्यलगायत सहभागी छन्।
कार्यक्रमअन्तर्गत सांसदहरूलाई संसदीय प्रक्रिया, विधेयक अध्ययन, संसद्मा प्रभावकारी प्रस्तुति, नेतृत्व क्षमता विकास, नीति निर्माण तथा जनप्रतिनिधिको भूमिकासम्बन्धी विषयमा प्रशिक्षण दिइने बताइएको छ। नयाँ पुस्ताका सांसदहरूको संसदीय क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित प्रशिक्षण आयोजना गरिएको रास्वपाले जनाएको छ।
दिउँसो ११ः४५ बजेबाट सुरु भएको प्रशिक्षणमा पार्टीभित्रको संगठनात्मक समन्वय, संसदीय रणनीति र जनअपेक्षाअनुसार भूमिका निर्वाह गर्ने विषयमा समेत छलफल हुने कार्यक्रम छ।
रास्वपाले संसद्मा आफ्नो उपस्थितिलाई अझ प्रभावकारी बनाउने लक्ष्यसहित प्रशिक्षण श्रृंखलाको पहिलो चरण सुरु गरेको जनाएको छ।








