काठमाडौं। लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौंको धुम्बाराही क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार शर्मामाथि एक नाबालिकालाई लामो समयसम्म घरमा राखेर बालश्रम गराएको तथा दुर्व्यवहार गरेको आरोप लागेको छ। यस घटनासम्बन्धी फाइल यसअघि जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंबाट उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयसम्म पुगेको थियो।

ADVERTISEMENT

घटनाको सुरुआत काठमाडौं महानगरपालिकामा प्रशिक्षार्थीका रूपमा कार्यरत विद्यार्थीहरूले गरेको सर्वेक्षणबाट भएको हो। उनीहरूले सामुदायिक विद्यालयमा अध्ययनरत अभिभावकसँग नबस्ने बालबालिकाको अवस्थाबारे अध्ययन गर्ने क्रममा उक्त नाबालिकाको अवस्था सार्वजनिक भएको थियो।

ADVERTISEMENT

सर्वेक्षणका क्रममा नाबालिकाले आफूलाई काममा लगाइएको, श्रमशोषण भएको र नियमित रूपमा कुटपिट सहनुपरेको जानकारी दिएकी थिइन्। उनले विगत ६ वर्षदेखि सांसद शर्माको घरमा काम गर्दै आएको र यस अवधिमा परिवारसँग भेटघाट गर्न नपाएको गुनासो समेत गरेकी थिइन्।

बालिकाले घरमा पोछा लगाउने, खाना बनाउने, बिरुवामा पानी हाल्ने लगायतका काम गर्न बाध्य बनाइएको र घरधनी पक्षबाट हात तथा पाइप प्रयोग गरी कुटपिट गरिएको आरोप लगाएकी थिइन्।

घटनापछि काठमाडौं महानगरपालिकाको टोली, नगर प्रहरी, वडा प्रतिनिधि तथा नेपाल प्रहरीको संयुक्त उपस्थितिमा बालिकाको उद्धार गरिएको थियो। उद्धारपछि उनलाई संरक्षण गृहमा राखिएको छ।

महानगरपालिकाले घटनामा संलग्नता देखिएको भन्दै सांसद शर्मा विरुद्ध प्रहरीमा उजुरी दिएको थियो। त्यसपछि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको हो।

यसैबीच, नाबालिकाको उद्धारपछि उनका बाबुले काठमाडौं आएर सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण (हबियस कर्पस) सम्बन्धी निवेदन समेत दर्ता गरेका थिए।