काठमाडौं । कार्यवाहक प्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागमती र विष्णुमती नदी संरक्षणका लागि काठमाडौं महानगरपालिकासहित आसपासका १७ नगरपालिकासँग समन्वय गरी आगामी मनसुनअघि नै काम सुरु गर्ने बताएका छन् ।
‘काठमाडौं जलवायु कार्य सप्ताह’लाई सम्बोधन गर्दै श्रेष्ठले नदीको प्राकृतिक बहाव संरक्षण, बाढीको पूर्वसूचना प्रणाली सुदृढीकरण, भूमिगत जल पुनर्भरण र सहरी प्रदूषण नियन्त्रणलाई प्राथमिकतामा राखेर संघीय सरकारले स्थानीय तहसँग सहकार्य गर्ने बताएका हुन् ।
उनका अनुसार जलस्रोत तथा सिँचाइ विभाग र भौतिक पूर्वाधार मन्त्रालयले काठमाडौं महानगरपालिका तथा नदी प्रणालीसँग जोडिएका नगरपालिकासँग मिलेर संरक्षणका कार्यक्रम अघि बढाउनेछन् । नदी व्यवस्थापन प्रशासनिक सीमाभित्र मात्र सीमित गर्न नसकिने भएकाले अन्तरपालिका समन्वय आवश्यक रहेको उनले बताए ।
श्रेष्ठले नदी किनारमा कङ्क्रिटका पर्खाल निर्माण गरेर बहाव नियन्त्रण गर्ने अभ्यासको विकल्पमा प्रकृतिमा आधारित संरक्षण पद्धति अपनाइने बताए । नदीलाई प्राकृतिक रूपमा फैलिन र खुम्चिन सक्ने अवस्था कायम राख्दै विष्णुद्वार, वाग्द्वार तथा नागार्जुन र गोदावरी क्षेत्रका जलस्रोत संरक्षणमा ध्यान दिइने उनको भनाइ छ ।
बाढीको पूर्वसूचना वडा र घरपरिवारसम्म
सम्भावित बाढीको सूचना प्रभावित क्षेत्रका वडा र घरपरिवारसम्म समयमै पुर्याउन पूर्वसूचना प्रणाली विस्तार गरिने श्रेष्ठले बताए ।
यसका लागि जल तथा मौसम विज्ञान विभागमार्फत वर्षा मापन, सहरी बाढीको मोडलिङ र पूर्वसूचना प्रणाली विकासमा काठमाडौं महानगरपालिकासहित अन्य सहरसँग सहकार्य गरिनेछ ।
हिमनदी पग्लिने क्रम र जोखिमयुक्त हिमचट्टानको अवस्थाबारे नियमित अनुगमन गर्न वैज्ञानिक, प्राविधिक विज्ञ, अभियन्ता तथा युवालाई सहभागी गराउने योजना पनि उनले सुनाए ।
जलवायु परिवर्तनका कारण विपद्को जोखिम बढिरहेको उल्लेख गर्दै श्रेष्ठले ४६ दिनभित्र तीनवटा नदी करिडोरमा ठूला ढुंगा र गेग्रानसहित बाढी आएको घटनालाई गम्भीर रूपमा लिनुपर्ने बताए ।
आकाशे पानी संकलन र रैथाने वृक्षरोपणमा जोड
सहरी तापक्रम घटाउन र भूमिगत पानीको भण्डार पुनर्भरण गर्न घरघरमा आकाशे पानी संकलन, पानी सोस्न सक्ने पैदलमार्ग निर्माण तथा खुला क्षेत्र संरक्षणका कार्यक्रम अघि बढाइने उनले बताए ।
मुख्य सडक किनार र सार्वजनिक खुला स्थानमा रैथाने प्रजातिका रूख रोप्ने कार्यक्रमका लागि काठमाडौं महानगरपालिकाले उपयुक्त स्थान पहिचान गरेपछि संघीय सरकारले आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउने उनको प्रतिबद्धता छ ।
श्रेष्ठले पछिल्ला चार वर्षमा पुराना ढुंगेधारा तथा राजकुलो पुनर्जीवित गर्न काठमाडौं महानगरपालिकाले गरेका कामको प्रशंसासमेत गरे ।
वायु प्रदूषण नियन्त्रणमा विद्युतीय यातायातलाई प्राथमिकता
वायु प्रदूषण न्यूनीकरणका लागि विद्युतीय सार्वजनिक यातायात विस्तार, स्वच्छ इँटाभट्टाको प्रयोग र फोहोर जलाउने कार्य नियन्त्रणमा जोड दिइने श्रेष्ठले बताए ।
नेपालको राष्ट्रिय निर्धारित योगदानअनुरूप प्रदूषण नियन्त्रणका कार्यक्रम अघि बढाइने र वायु गुणस्तरसम्बन्धी तथ्याङ्क सर्वसाधारणले सहजै प्राप्त गर्न सक्ने गरी सार्वजनिक गरिने उनको भनाइ छ ।
जाडोयाम तथा तुवाँलोका कारण प्रदूषण बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै प्रत्येक वर्ष अक्टोबर सुरु हुनुअघि नै आवश्यक तयारी पूरा गर्ने योजना पनि उनले सुनाए ।
टेकुको बायोग्यास प्लान्ट सञ्चालन र जलवायु वित्त परिचालन
फोहोर व्यवस्थापनलाई ऊर्जा उत्पादनसँग जोड्ने योजनाअन्तर्गत टेकुस्थित बायोग्यास प्लान्ट शीघ्र सञ्चालनमा ल्याउने विषयलाई सरकारले प्राथमिकता दिएको श्रेष्ठले बताए ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र काठमाडौं महानगरपालिकाबीच भएको समझदारीअनुसार काम अघि बढाउन घरबाटै कुहिने र नकुहिने फोहोर छुट्याउन उनले नागरिकलाई आग्रह गरे ।
जलवायु अनुकूलनका कार्यक्रमका लागि आवश्यक वित्तीय स्रोत जुटाउन नगर विकास कोषसँग सहकार्य गरिनेछ । प्रस्तावित जलवायु वित्त शिखर सम्मेलनमार्फत हरित बन्ड तथा जलवायु कोषका स्रोत परिचालन गर्ने योजना रहेको उनले जानकारी दिए ।
सहरीकरणका कमजोरीबाट सिक्न आग्रह
काठमाडौं क्षेत्र नम्बर ८ बाट निर्वाचित सांसदसमेत रहेका श्रेष्ठले आफ्नो बाल्यकालमा बागमती र विष्णुमती नदीको पानी पिउन तथा नुहाउन मिल्ने अवस्था रहेको स्मरण गरे ।
नदी आसपासका हरिया खेतबारी र चराचुरुंगीको आवाजबीच बितेको बाल्यकाल सम्झँदै उनले अहिले ती नदी प्रदूषित बनेको अवस्थाप्रति चिन्ता व्यक्त गरे ।
अव्यवस्थित सहरीकरणका कारण खेतीयोग्य जमिन, पोखरी र खुला क्षेत्र घटेको तथा वर्षाको पानी जमिनमा सोसिने प्राकृतिक प्रक्रिया प्रभावित भएको उनले बताए । खुला जमिन घट्दा बाढीको जोखिम बढ्नुका साथै सहरी तापक्रमसमेत वृद्धि भएको उनको भनाइ छ ।
तीव्र सहरीकरण भइरहेका अन्य नगरपालिकालाई काठमाडौंको अनुभवबाट सिक्दै नदी, पोखरी र सार्वजनिक खुला क्षेत्र समयमै संरक्षण गर्न उनले आग्रह गरे ।
विपद् व्यवस्थापनमा युवाको प्रविधि र परम्परागत ज्ञान जोडिने
जलवायु जोखिम न्यूनीकरणका लागि नयाँ प्रविधिको प्रयोगसँगै परम्परागत जल व्यवस्थापनसम्बन्धी ज्ञानको संरक्षण आवश्यक रहेको श्रेष्ठले बताए ।
कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूले मोबाइल नेटवर्क उपलब्ध नभएको अवस्थामा समेत विपद्सम्बन्धी सूचना आदानप्रदान गर्न सकिने सञ्चार प्रणाली विकास गरेको उदाहरण दिँदै उनले युवाको सिर्जनशीलताको प्रशंसा गरे ।
यस्ता प्रविधिलाई पुराना हिटी, राजकुलो र स्थानीय जलप्रणालीबारे ज्येष्ठ नागरिकसँग रहेको ज्ञानसँग जोडेर उपयोग गर्नुपर्ने उनको धारणा छ ।
विश्वव्यापी कार्बन उत्सर्जनमा नेपालको हिस्सा अत्यन्त कम भए पनि हिमनदी पग्लिने, बाढी र पहिरोजस्ता जलवायुजन्य जोखिम नेपाली नागरिकले भोग्नुपरेको उल्लेख गर्दै उनले जलवायु न्यायको विषयसमेत उठाए ।
श्रेष्ठले भविष्यको काठमाडौंलाई हरियालीयुक्त, सुरक्षित र पैदलयात्रीमैत्री सहरका रूपमा विकास गर्नुपर्ने धारणा राखे । नदी करिडोर, साइकल लेन, सार्वजनिक खुला क्षेत्र तथा काठमाडौं आसपासका जंगल र राष्ट्रिय निकुञ्जको पारिस्थितिक सन्तुलन संरक्षणमा उनले जोड दिए ।
हरियालीसँगै आधुनिक व्यावसायिक गतिविधि विस्तार हुने र नागरिकले सुरक्षित रूपमा बसोबास गर्न सक्ने काठमाडौं निर्माणका लागि सबै तहका सरकार तथा नागरिकबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।












