काठमाडौं । विश्वभर बीमा व्यवसाय विस्तार हुँदै गएको छ। जलवायु परिवर्तन, साइबर आक्रमण र भूराजनीतिक तनावले बीमा क्षेत्रमा नयाँ चुनौती थपिरहेका बेला सन् २०२५ मा जीवन तथा निर्जीवन दुवै बीमा बजारले ८.७ प्रतिशत नाममात्रको बीमाशुल्क वृद्धि हासिल गरेका छन्।
आर्थिक सहयोग तथा विकास संगठन (ओईसीडी) ले नोभेम्बर २ मा सार्वजनिक गरेको ‘ग्लोबल इन्स्योरेन्स मार्केट ट्रेन्ड्स २०२६’ प्रतिवेदनले यस्तो वृद्धि देखाएको हो। प्रतिवेदनले २०२५मा ओईसीडी तथा गैरओईसीडी क्षेत्रका ५० भन्दा बढी बीमा बजारको अवस्था विश्लेषण गरेको छ।
प्रतिवेदनअनुसार सन् २०२५ मा निर्जीवन बीमा बजारको बीमाशुल्क आर्जन नाममात्रको ८.७ प्रतिशतले बढेको छ। जसमा मुद्रास्फीति समायोजन गर्दा यसको वास्तविक वृद्धिदर भने ४.१ प्रतिशत रहेको छ। सन् २०२४ मा निर्जीवन बीमामा नाममात्रको वृद्धिदर ८.२ प्रतिशत र वास्तविक वृद्धिदर ४.२ प्रतिशत थियो।
त्यस्तै, जीवन बीमा बजारमा पनि नाममात्रको बीमाशुल्क वृद्धि ८.७ प्रतिशत पुगेको छ। मुद्रास्फीति समायोजनपछि जीवन बीमाको वास्तविक वृद्धिदर ४ प्रतिशत रहेको छ। अघिल्लो वर्ष जीवन बीमाको नाममात्र वृद्धिदर ११.९ प्रतिशत र वास्तविक वृद्धिदर ७.८ प्रतिशत थियो। यसले जीवन बीमाको वृद्धिदर अघिल्लो वर्षको तुलनामा सुस्त भएको देखाउँछ।
दाबी भुक्तानी बढ्दा बीमाशुल्कमा दबाब
निर्जीवन बीमा बजारमा बीमाशुल्क वृद्धि हुनुको प्रमुख कारण बीमा कम्पनीहरूले दाबी भुक्तानीमा बढेको लागतअनुसार प्रिमियम दर समायोजन गर्नु रहेको प्रतिवेदनले औँल्याएको छ।
विशेषगरी सवारीसाधन बीमामा मर्मत खर्च बढ्नु, स्वास्थ्य बीमामा उपचार लागत वृद्धि हुनु तथा प्राकृतिक विपत्तिका कारण हुने क्षतिले बीमा कम्पनीको दायित्व बढाएको छ। त्यसको प्रभाव बीमाशुल्क दरमा समेत परेको छ।
ओईसीडीका अनुसार सन् २०२५ मा ५३ क्षेत्राधिकारमध्ये ५० वटामा निर्जीवन बीमाको नाममात्र बीमाशुल्क वृद्धि सकारात्मक रहेको थियो। त्यस्तै, ४६ क्षेत्राधिकारमा मुद्रास्फीति समायोजनपछिको वास्तविक वृद्धिसमेत सकारात्मक देखिएको छ।
यसले विश्वका अधिकांश बजारमा निर्जीवन बीमाको माग र कारोबार विस्तार भइरहेको संकेत गर्छ। यद्यपि, बीमाशुल्क वृद्धि हुनुमा नयाँ बीमित थपिनु मात्रै नभई पुराना बीमालेखको प्रिमियम दर बढ्नुको पनि योगदान रहेको छ।
बीमा कम्पनीको नाफा सकारात्मक
बीमा बजार विस्तारसँगै कम्पनीहरूको वित्तीय अवस्था पनि सकारात्मक देखिएको छ। प्रतिवेदनअनुसार सन् २०२५ मा जीवन बीमा कम्पनीहरूको औसत इक्विटीमा प्रतिफल (आरओई) १६.७ प्रतिशत र निर्जीवन बीमा कम्पनीहरूको १५.७ प्रतिशत रहेको छ।
बीमा कम्पनीहरूको नाफामा बीमालेखबाट प्राप्त आम्दानीसँगै लगानीबाट प्राप्त प्रतिफलले पनि योगदान पुर्याएको छ। अधिकांश बजारमा बीमा कम्पनीहरूको नाममात्र लगानी प्रतिफल सकारात्मक रहे पनि मुद्रास्फीति समायोजनपछि वास्तविक प्रतिफल भने मिश्रित देखिएको छ।
बीमा कम्पनीहरूले आफ्नो लगानीको ठूलो हिस्सा ऋणपत्र तथा बन्डमा राखेका छन्। सन् २०२५ को अन्त्यसम्म जीवन बीमा कम्पनीको कुल लगानीमध्ये औसत ५९.७ प्रतिशत, निर्जीवन बीमा कम्पनीको ५०.६ प्रतिशत र मिश्रित बीमा कम्पनीको ६५.७ प्रतिशत हिस्सा बन्डमा रहेको प्रतिवेदनमा उल्लेख छ।
साइबर जोखिमको हिस्सा ८७ प्रतिशत, नियामकको नयाँ चिन्ता
बीमा बजार विस्तार भइरहँदा साइबर आक्रमण र डिजिटल सुरक्षासम्बन्धी जोखिम विश्वभरका बीमा नियामकका लागि प्रमुख चिन्ताको विषय बनेको छ।
ओईसीडीको प्रतिवेदनअनुसार सर्वेक्षणमा सहभागी क्षेत्राधिकारमध्ये ८७ प्रतिशतले साइबर जोखिमलाई बीमा क्षेत्रको प्रमुख जोखिमका रूपमा औँल्याएका छन्। बीमा कम्पनीका डिजिटल प्रणालीमा हुने आक्रमण, डेटा चोरी, र्यानसमवेयर तथा प्रविधिमा बढ्दो निर्भरताले कम्पनीको सञ्चालन र वित्तीय स्थायित्वमा असर पार्न सक्ने देखिएको छ।
विशेषगरी कृत्रिम बुद्धिमत्ता (एआई) को विकासले साइबर आक्रमणलाई थप जटिल बनाएको छ। आक्रमणकारीले एआई प्रयोग गरी सफ्टवेयरका कमजोरी पहिचान गरि ठूलो स्तरमा साइबर अपराध सञ्चालन गर्न सक्ने जोखिम बढेको प्रतिवेदनमा उल्लेख छ।
साइबर जोखिम केवल बीमा कम्पनीको आफ्नै प्रणालीमा सीमित छैन। कम्पनीहरूले ग्राहकको साइबर क्षतिको बीमा दायित्वसमेत बहन गर्नुपर्ने भएकाले यो जोखिम बीमाको नयाँ व्यवसाय र सम्भावित दाबी दुवैसँग जोडिएको छ।
जलवायु परिवर्तन र प्राकृतिक विपत्ति अर्को चुनौती
साइबर जोखिमसँगै जलवायु परिवर्तन तथा प्राकृतिक विपत्तिसम्बन्धी जोखिम पनि बीमा क्षेत्रका लागि प्रमुख चुनौती बनेको छ।
प्रतिवेदनअनुसार प्राकृतिक विपत्ति तथा जलवायु जोखिमलाई ३९ मध्ये ३४ क्षेत्राधिकारले प्रमुख जोखिमका रूपमा पहिचान गरेका छन्। त्यस्तै, ओईसीडीक ३४ देशहरुले साइबर जोखिमलाई पनि प्रमुख चिन्ताका रूपमा उल्लेख गरेका छन्।
बाढी, आँधी, डढेलो तथा अन्य प्राकृतिक विपत्तिले घर, व्यवसाय, पूर्वाधार र कृषि क्षेत्रमा ठूलो क्षति पुर्याउन सक्छन्। यस्तो क्षतिको बीमा दाबी बढ्दा कम्पनीहरूको वित्तीय दायित्वसमेत बढ्छ।
सन् २०२५ मा विश्वव्यापी बीमित विपत्ति क्षति अघिल्लो वर्षको तुलनामा घटेको भए पनि जलवायु जोखिमको महत्व कम नभएको प्रतिवेदनले स्पष्ट पारेको छ। प्राकृतिक विपत्तिबाट हुने क्षति उच्च र अप्रत्याशित हुन सक्ने भएकाले बीमा कम्पनीले जोखिम मूल्यांकन, पुनर्बीमा र वित्तीय तयारीमा विशेष ध्यान दिनुपर्ने देखिएको छ।
विश्वका देशबीच बीमाको पहुँचमा ठूलो अन्तर
बीमा बजारको विस्तारसँगै बीमाको पहुँच पनि बढेको छ। ओईसीडी सदस्य राष्ट्रहरूमा कुल बीमा पहुँच (इन्स्योरेन्स पेनिट्रेसन) सन् २०२४ को कुल गार्हस्थ्य उत्पादनको ६.२ प्रतिशतबाट बढेर सन् २०२५ मा ६.६ प्रतिशत पुगेको छ।
त्यस्तै, गैरओईसीडी प्रतिवेदनमा समेटिएका देशहरुमा बीमा पहुँच ३.७ प्रतिशतबाट बढेर ४.२ प्रतिशत पुगेको छ।
तर, आयस्तरअनुसार बीमाको पहुँचमा ठूलो अन्तर देखिएको छ। सन् २०२५ मा उच्च आय भएका देशमा बीमा पहुँच कुल गार्हस्थ्य उत्पादनको ६.७ प्रतिशत रहेकामा न्यूनमध्यम आय भएका देशमा यस्तो अनुपात केवल ०.७ प्रतिशत रहेको छ।
यसले विश्वभर बीमा बजार विस्तार भइरहे पनि न्यून तथा मध्यम आय भएका देशमा बीमाको पहुँच र विस्तारका लागि अझै ठूलो सम्भावना रहेको देखाउँछ।
समग्रमा, सन् २०२५ मा विश्व बीमा बजारले बीमाशुल्क वृद्धि र नाफामा सकारात्मक अवस्था कायम राखेको छ। तर, साइबर आक्रमण, जलवायु परिवर्तन, प्राकृतिक विपत्ति र भूराजनीतिक तनावले आगामी दिनमा बीमा कम्पनीहरूको जोखिम व्यवस्थापन, लगानी रणनीति र वित्तीय स्थायित्वमा थप चुनौती सिर्जना गर्ने देखिएको छ।












