काठमाडौँ । देशभर सुक्खा मौसम, वर्षा अभाव र बढ्दो तापक्रमका कारण वन डढेलोका घटना तीव्र रूपमा बढेका छन् भने काठमाडौँ उपत्यकासहितका क्षेत्रमा वायु प्रदूषण पनि खतरनाक स्तरमा पुगेको छ । सम्बन्धित निकायका तथ्याङ्क र विज्ञहरूको विश्लेषणअनुसार हालको अवस्था डढेलो र प्रदूषण दुवै दृष्टिले गम्भीर बनेको छ ।

वन तथा भूसंरक्षण विभागका अनुसार पछिल्ला दिनमा सानो झिल्काले समेत ठूलो आगलागी निम्त्याउने जोखिम बढेको छ । सुक्खा मौसमका कारण डढेलो फैलिने सम्भावना उच्च बनेको विभागले जनाएको छ । प्रि–मनसुन अवधिमा अघिल्लो वर्षको तुलनामा वर्षा राम्रो भएकाले चैत महिनामा डढेलो घटेको भए पनि हाल पुनः सुक्खा बढेसँगै जोखिम बढ्दै गएको छ ।

तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८ मा ४६६, २०७९ मा २६७, २०८० मा २४९ र २०८१ मा ३३१ वटा डढेलोका घटना भएका थिए । चालु आर्थिक वर्ष २०८२ मा भने ७९ वटा मात्र घटना दर्ता भए पनि वैशाखको पहिलो चार दिनमै १०२ वटा डढेलोका घटना भएको विभागले जनाएको छ ।

डढेलो सबैभन्दा बढी दाङमा १७, कपिलवस्तुमा १४, नवलपुरमा ९ वटा दर्ता भएका छन् । सल्यान, सुर्खेत र कैलालीमा पनि उल्लेख्य घटना भएका छन् । ‘उच्च विश्वसनीयता’ भएका घटनामध्ये कैलालीमा १२, डोटीमा ११, अर्घाखाँचीमा ७, गुल्मीमा ६ र पाल्पामा ५ वटा घटना देखिएको छ ।

संरक्षित क्षेत्रमा पनि डढेलो बढेको छ । चितवन राष्ट्रिय निकुञ्जमा २३, पर्सामा १० र बाँकेमा ९ वटा घटना भएका छन् भने बर्दिया र शुक्लाफाँटा निकुञ्जमा पनि डढेलो फैलिएको छ । कुल ५७ वटा संरक्षित क्षेत्रका घटना र ३३ वटा उच्च विश्वसनीयताका घटना रेकर्ड भएका छन् ।

महानिर्देशक धीरेन्द्रकुमार प्रधानका अनुसार सुक्खा मौसम र तापक्रम बढेकाले सानो लापरबाहीले पनि ठूलो आगलागी हुन सक्छ । मौसमविद् अनुसार वर्षा नभए जोखिम अझ बढ्नेछ ।

वन अधिकृत विजय ढकालले स्थानीय तह, सुरक्षा निकाय र समुदायबीच समन्वय आवश्यक रहेको बताउनुभएको छ भने वन प्राविधिक संघका अध्यक्ष राकेश कर्णले व्यवस्थित वन व्यवस्थापन नभएकै कारण डढेलो समस्या जटिल बनेको उल्लेख गर्नुभयो ।

वायु प्रदूषण पनि खतरनाक स्तरमा

डढेलो बढेसँगै काठमाडौँ उपत्यकाको वायु गुणस्तर पनि अत्यन्त खराब बनेको छ । एयर क्वालिटी इन्डेक्स (AQI) मङ्गलबार ९२ बाट बढेर बिहीबार २४७ पुगेको छ, जसलाई ‘अत्यन्त अस्वस्थ’ तह मानिन्छ । यससँगै काठमाडौँ विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको छ ।

वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार वर्षा नहुनु, हावाको गति कम हुनु र तापक्रम बढ्नु प्रदूषणका प्रमुख कारण हुन् । वातावरणीय अभियन्ता राजन थापाका अनुसार डढेलोबाट निस्कने सूक्ष्म कण (PM 2.5) ले वायुमण्डल गम्भीर रूपमा दूषित बनाएको छ ।

AQI मापदण्डअनुसार ०–५० राम्रो, ५१–१०० मध्यम, १०१–१५० अस्वस्थ, १५१–२०० सबैका लागि अस्वस्थ, २०१–३०० धेरै अस्वस्थ र ३०० भन्दा माथि अत्यन्त खतरनाक मानिन्छ । स्वास्थ्य विज्ञहरूले बालबालिका, वृद्धवृद्धा र श्वासप्रश्वास समस्या भएका व्यक्तिहरूलाई सावधानी अपनाउन आग्रह गरेका छन् ।

अझै केही दिन सुक्खा रहने

मौसमविद् बिनु महर्जनका अनुसार मौसममा आंशिक सुधार देखिए पनि पूर्ण रूपमा सुधार हुन बुधबारसम्म कुर्नुपर्नेछ । अर्को साताबाट मात्रै राम्रो वर्षा हुने सम्भावना छ, जसले डढेलो र प्रदूषण घटाउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागले मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रहरूमा अझै ‘तातो दिन’ र केही स्थानमा ‘लु’ चल्ने जोखिम रहेको जनाएको छ । सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।