काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतका प्रधानमन्त्रीले सार्वजनिक गरेको भिजन डकुमेन्टले सीमा विवाद, सन् १९५० को सन्धि पुनरावलोकन र प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदनका विषयलाई समेत सम्बोधन गर्ने दाबी गरेका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

ADVERTISEMENT

मन्त्री खनालले दुई देशका प्रधानमन्त्रीले अघि सारेको भिजन डकुमेन्टले नेपाल–भारत सम्बन्धका पुराना मुद्दालाई सम्बोधन गर्ने बताए । उनले नेपालसँगका असमान सन्धि पुनरावलोकनका लागि भारत तयार भएको दाबीसमेत गरे ।

ADVERTISEMENT

नेपाल–भारत सीमा विवाद तथा सन् १९५० को सन्धि पुनरावलोकनका विषयमा सुझाव दिन दुवै देशका प्रबुद्ध व्यक्तिहरू सम्मिलित संयन्त्र गठन गरिएको थियो ।

उक्त संयन्त्रले २०७५ सालमा प्रतिवेदन तयार गरे पनि भारत सरकारले हालसम्म प्रतिवेदन बुझेको छैन । मन्त्री खनालले भिजन डकुमेन्टमा उक्त संयन्त्रले उठाएका विषयसमेत सम्बोधन हुने जिकिर गरेका हुन् ।

यद्यपि, प्रधानमन्त्री शाहको भ्रमणका क्रममा सीमा विवादबारे उच्च तहमा छलफल नभएको उनले स्पष्ट पारे । दुवै देशका प्रधानमन्त्रीले सीमा विवादका विषयमा संयुक्त बैठक गर्न आ–आफ्ना विदेश सचिवलाई निर्देशन दिएको उनले बताए ।

खनालका अनुसार सीमा विवादबारे उपयुक्त तहमा धारणा राख्ने र त्यसका लागि बैठक गर्ने सहमति भएको छ । यसैगरी, मन्त्री खनालले भारतसँग बागडोगरा हवाई रुटका विषयमा कुनै सहमति नभएको स्पष्ट पारे ।

भारतले सैन्य प्रयोजनका लागि नभई नागरिक उड्डयनका लागि बागडोगरा रुटको अनुमति मागेको भए पनि सरकारले त्यसमा सहमति नदिएको उनको भनाइ छ । हाल भैरहवाको हवाई रुटका विषयमा मात्रै सहमति भएको उनले बताए ।

प्रधानमन्त्री शाहको भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ सम्भावनासहित सकारात्मक दिशामा अघि बढाएको दाबीसमेत मन्त्री खनालले गरेका छन् ।