काठमाडौं । नेपाल र भारतबीच सञ्चालन हुँदै आएको संयुक्त सैन्य अभ्यास ‘सूर्य किरण’ को २०औँ संस्करणमा सहभागी हुन भारतीय सैनिक टोली नेपाल आइपुगेको छ ।
नेपाली सेनाका अनुसार भारतीय सेनाको टोली रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा पुगेको हो ।
विसं २०६७ देखि नेपाल र भारतमा आलोपालो गरी वार्षिक रूपमा सञ्चालन हुँदै आएको यो सैन्य अभ्यास मङ्सिर ९ देखि २२ गतेसम्म सञ्चालन हुनेछ ।
अभ्यासमा भारतीय सेनाको १२ कुमाउ रेजिमेन्ट र नेपाली सेनाका तर्फबाट ज्वालादल गण सहभागी हुने कार्यक्रम रहेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
संयुक्त सैन्य अभ्यासको मुख्य उद्देश्य दुवै देशका सेनाबीच आपसी समन्वय, अनुभव आदानप्रदान तथा सैन्य क्षमता अभिवृद्धि गर्नु हो ।












