काठमाडौँ, भदौ १५ गते । प्रधानमन्त्री वालेन्द्र शाहले हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण विपद्को जोखिम बढ्दै गएको बताउनुभएको छ। उहाँले भोटेकोशी नदीमा आएको बाढीलाई सामान्य घटना नभई हिमपहिरोबाट सिर्जित ठूलो विपत्तिका रूपमा व्याख्या गर्दै जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको जोखिमबारे अन्तर्राष्ट्रिय समुदायसमक्ष बलियो रूपमा विषय उठाउनुपर्ने बताउनुभएको हो।
सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले सरकार बाढी प्रभावित नागरिकको खोज, उद्धार, उपचार, राहत तथा सुरक्षित व्यवस्थापनमा सक्रिय रहेको जानकारी दिनुभयो। विपद्को समयमा अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी, विभिन्न निकाय, स्वयंसेवी संस्था तथा आमनागरिकको भूमिकाको उहाँले प्रशंसा गर्नुभयो।
प्रधानमन्त्रीका अनुसार रसुवा, नुवाकोट र धादिङका प्रभावित क्षेत्रमा चारवटा सङ्कलन केन्द्रमार्फत राहत व्यवस्थापन भइरहेको छ। रसुवा र नुवाकोटका २७ वटा वितरण केन्द्रबाट हालसम्म ३ हजार ६९६ जना प्रभावित नागरिकसम्म राहत पुर्याइएको उहाँले जानकारी दिनुभयो।
भारत, चीन, अमेरिका, संयुक्त अरब इमिरेट्स, कतार, जापान, स्वीट्जरल्याण्ड र अष्ट्रेलियालगायत मित्रराष्ट्रबाट समेत सहयोग प्राप्त भइरहेको प्रधानमन्त्री शाहले बताउनुभयो।
सडक तथा पुल पुनःस्थापनामा जोड
बाढीका कारण प्रभावित नुवाकोटको त्रिशूलीपारिको भूभाग पुनः सडक सञ्जालमा जोडिएको प्रधानमन्त्री शाहले बताउनुभयो। गल्छी–त्रिशूली राजमार्गअन्तर्गत त्रिशूली नदीको दायाँ किनार हुँदै कल्लेरीटार, कोशीखोला, पिपलटार, दर्शनटार, छत्रेखोला र गौरीबेँसी हुँदै त्रिशूली बजारसम्म सडक सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ।
यसबाट प्रभावित क्षेत्रमा उद्धार, राहत सामग्री वितरण तथा अत्यावश्यक वस्तुको आपूर्तिमा सहजता हुने बताइएको छ।
रसुवा, नुवाकोट र धादिङका विभिन्न स्थानमा पुल भत्किएपछि सरकारले अस्थायी पुल निर्माणलाई प्राथमिकता दिएको छ। प्रधानमन्त्री शाहका अनुसार ४८ मिटर लम्बाइका ६ वटा र ७० मिटरको एकवटा बेलीब्रिज उपलब्ध छन्। देवीघाटको तादी नदी, त्रिशूली बजार र बेत्रावती बजारमा बेलीब्रिज राख्ने विषयमा अध्ययन भइसकेको छ।
भारत सरकारले २३० फिट लामो सिङ्गल लेन मोडुलर स्टिल ब्रिज उपलब्ध गराएको तथा थप सातवटा बेलीब्रिज पठाउने प्रतिबद्धता जनाएको प्रधानमन्त्री शाहले बताउनुभयो। चीन सरकारले पनि ३० वटा बेलीब्रिज उपलब्ध गराउने जानकारी उहाँले दिनुभयो।
पुनःस्थापनाको तयारी सुरु
प्रधानमन्त्री शाहले खोज तथा उद्धारसँगै प्रभावित नागरिकको पुनःस्थापनाका लागि समेत सरकारले तयारी अघि बढाएको बताउनुभयो। स्थानीय सरकारसँगको समन्वयमा प्रभावित नागरिकको संख्या र भौतिक क्षतिको विवरण सङ्कलन भइरहेको उहाँले जानकारी दिनुभयो।
उहाँले घर, परिवार, प्रियजन तथा जायजेथा गुमाएका नागरिकको पीडालाई सरकारले गम्भीर रूपमा लिएको बताउँदै प्रभावितलाई मानसिक तथा शारीरिक रूपमा सशक्त बनाउँदै पुनःस्थापना गरी सामान्य जनजीवनमा फर्काउने सरकारको प्राथमिकता रहेको उल्लेख गर्नुभयो।







