काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको २०औँ वार्षिकोत्सवको अवसरमा आयोजित तेस्रो संस्करणको ‘गरिमा रोड रेस’ प्रतियोगिता सम्पन्न भएको छ। ‘स्वस्थ जीवनशैलीका लागि खेलकुद’ भन्ने नारासहित शनिबार आयोजित प्रतियोगितामा १ हजार ४०० भन्दा बढी धावक सहभागी भएका थिए।
बैंकले आफ्नो वार्षिकोत्सवको अवसर पारेर आयोजना गरेको प्रतियोगिता खुला र कर्पोरेट गरी दुई विधामा सञ्चालन गरिएको थियो। दुवै विधामा महिला र पुरुषतर्फ छुट्टाछुट्टै प्रतिस्पर्धा गराइएको थियो।
खुला विधाअन्तर्गत १० किलोमिटर दौडको पुरुषतर्फ तीर्थकुमार पुनले ३१ मिनेट ५० सेकेन्डमा दूरी पूरा गर्दै प्रथम स्थान हासिल गरे। त्यस्तै, महिलातर्फ राज्य रावलले ३९ मिनेट ५४ सेकेन्डमा दौड पूरा गर्दै पहिलो स्थान हासिल गरिन्।
यसैगरी, कर्पोरेट विधाअन्तर्गत ५ किलोमिटर दौडको पुरुषतर्फ ईश्वर बुढाथोकीले १९ मिनेट २८ सेकेन्डमा दूरी पूरा गर्दै प्रथम भए। महिलातर्फ दिव्या विष्टले २६ मिनेट ५७ सेकेन्डमा दौड पूरा गर्दै पहिलो स्थान हासिल गरिन्।
खुला विधाको १० किलोमिटर दौडमा प्रथमदेखि पाँचौँ स्थानसम्म हासिल गर्ने धावकलाई क्रमशः ५० हजार, ३५ हजार, २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो। त्यस्तै, कर्पोरेट विधाको ५ किलोमिटर दौडमा प्रथमदेखि पाँचौँ स्थानसम्मका विजेताले क्रमशः ३० हजार, २० हजार, १५ हजार, १० हजार र ५ हजार रुपैयाँ प्राप्त गरेका थिए। विजेतालाई नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको बैंकले जनाएको छ।
खुला विधाको दौड बैंकको केन्द्रीय कार्यालय बालुवाटारबाट सुरु भई नारायणगोपाल चोक, हात्तीगौंडा हुँदै बूढानीलकण्ठ नगरपालिका–३ को कार्यालयसम्म पुगेर पुनः सोही मार्ग हुँदै बालुवाटारमा आएर सम्पन्न भएको थियो। कर्पोरेट विधाको दौड भने बालुवाटारबाट सुरु भई नारायणगोपाल चोक हुँदै न्युरो अस्पताल, बाँसबारी पुगेर पुनः बालुवाटार फर्किएको थियो।
कार्यक्रममा बैंकका अध्यक्ष दिलीपप्रताप खाँण, सञ्चालक समितिका सदस्य, सेयरधनी, विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय निकायका प्रतिनिधि, पत्रकार तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।
बैंकले २०औँ वार्षिकोत्सवकै अवसरमा मंसिर ७ गते सोमबार देशका विभिन्न नौ स्थानमा बृहत् रक्तदान कार्यक्रमसहित विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गर्ने जनाएको छ।












