काठमाडौं । सरकारले प्रधानमन्त्री वालेन्द्र शाहको मंसिर ६ र ७ गते हुने भारतको राजकीय भ्रमण स्वीकृत गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णयसमेत गरेको हो।
बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत गरिएको जानकारी दिएका हुन्।
मन्त्रिपरिषद् बैठकले देशभर नापजाँच हुन बाँकी सरकारी, सार्वजनिक तथा सामुदायिक जग्गाको लगत तयार गर्ने निर्णय पनि गरेको छ। त्यसका लागि त्यस्ता जग्गाको नापजाँच गर्न आदेश जारी गर्ने निर्णय सरकारले गरेको छ।
त्यस्तै, भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकको जीवनरक्षा तथा तत्काल उद्धारका लागि चीन सरकारले उपलब्ध गराउने २० लाख अमेरिकी डलर बराबरको नगद अनुदान स्वीकार गर्ने निर्णय भएको छ।
बैठकले अन्तर्राष्ट्रिय मुद्रा कोषको ‘र्यापिड क्रेडिट फ्यासिलिटी’ अन्तर्गत प्राप्त हुने करिब १० करोड ७० लाख अमेरिकी डलर बराबरको निर्ब्याजी सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णयसमेत गरेको छ।
यसैगरी, मन्त्रिपरिषद् बैठकले राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना २०२६–२०३० स्वीकृत गरेको छ। ऐतिहासिक, पुरातात्त्विक तथा सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी मापदण्ड, २०८३ र राष्ट्रिय झोलुंगे पुल नीति, २०८३ पनि बैठकले स्वीकृत गरेको छ।
सरकारका यी निर्णयसँगै प्रधानमन्त्रीको भारत भ्रमण, विपद् प्रभावितका लागि अन्तर्राष्ट्रिय सहयोग स्वीकार तथा सार्वजनिक जग्गाको अभिलेखीकरणलाई मन्त्रिपरिषद्ले प्राथमिकतामा राखेको देखिएको छ।












