काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान भारत प्रस्थान गरेका छन्।

भ्रमणको पहिलो दिन बिहीबार साँझ ५ बजे उनले भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

ADVERTISEMENT

शुक्रबार बिहान पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवादमा सहभागी हुने वाग्लेले सोही दिन साँझ भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गर्नेछन्। साँझ भारत व्यापार सम्वर्द्धन संगठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने कार्यक्रममा पनि उनी सहभागी हुनेछन्।

ADVERTISEMENT

शनिबार भारतीय उद्योग परिसंघले आयोजना गर्ने औद्योगिक घरानाहरूसँगको सम्मेलनमा प्रमुख वक्ताका रूपमा सहभागी भएपछि दिल्ली स्कुल अफ इकोनोमिक्सको विकास अर्थनीतिसम्बन्धी प्राज्ञिक छलफलमा सहभागी हुने कार्यक्रम छ। त्यसपछि उनी शनिबार साँझ ४ बजे नेपाल फर्किनेछन्।

अर्थमन्त्रीको सचिवालयका अनुसार विपद्पछिको पुनर्निर्माणसहित नेपाल–भारतबीच आर्थिक, राजनीतिक तथा कूटनीतिक क्षेत्रमा सहकार्यका विषय भ्रमणका मुख्य एजेन्डा रहेका छन्।

ADVERTISEMENT