काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को आसन्न भारत भ्रमणको तालिका अझै निश्चित हुन सकेको छैन । भ्रमणको मिति र कार्यक्रम टुंग्याउन नेपाल र भारतका अधिकारीहरूबीच समन्वयात्मक छलफल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता सहसचिव लोकबहादुर पौडेल क्षेत्रीले भ्रमण तालिका निश्चित भएपछि सार्वजनिक गरिने जानकारी दिए । उनका अनुसार अहिले दुवै देशका अधिकारीहरूबीच भ्रमणको समय र कार्यक्रमबारे छलफल भइरहेको छ ।
भ्रमणको तालिका टुंग्याउन बुधबार नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाले सिंहदरबार पुगेर प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेका थिए । बिहीबार पनि दुई पक्षबीच यस विषयमा छलफल भइरहेको जनाइएको छ ।
परराष्ट्र मन्त्रालयले भ्रमणको तालिका निश्चित भएपछि पत्रकार सम्मेलनमार्फत औपचारिक जानकारी दिने तयारी गरेको छ । मन्त्रालयका सचिव अमृत राईले शुक्रबार पत्रकार सम्मेलन गरेर भ्रमणबारे जानकारी गराउने तयारी भए पनि त्यसको समय भने तय भइसकेको छैन ।
प्रधानमन्त्री शाह दुई दिने राजकीय भ्रमणका लागि मंसिर ६ गते भारत प्रस्थान गर्ने र मंसिर ७ गते स्वदेश फर्कने कार्यक्रम रहेको चर्चा बाहिर आएको छ । तर, परराष्ट्र मन्त्रालयले यसबारे औपचारिक पुष्टि गरेको छैन ।












