काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को देशको आर्थिक तथा वित्तीय स्थिति वार्षिक तथ्यांक सार्वजनिक गरेको छ ।
गत असार मसान्तसम्ममा आधारित तथ्यांकअनुसार आव २०८१/८२ मा आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहेको अनुमान छ । अघिल्लो वर्ष आर्थिक वृद्धिदर ३.६७ प्रतिशत थियो ।
वार्षिक औसत मुद्रास्फीति ४.०६ प्रतिशत छ । जबकि अघिल्लो वर्ष वार्षिक औसत मुद्रास्फीति ५.४४ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, शोधनान्तर स्थिति ५९४ अर्ब ५४ करोडले बचतमा छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति ५०२ अर्व ४९ करोडले बचतमा थियो । यस आधारमा ९२ अर्ब रुपैयाँले बचतमा वृद्धि भएको छ ।
अघिल्लो आवमा आयात १३.३ प्रतिशत र निर्यात ८१.८ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष आयात १.२ प्रतिशतले र निर्यात ३.० प्रतिशतले घटेको थियो । यसपटक निर्यातमा कीर्तिमान नै कायम भएको छ ।
राष्ट्र बैंकका अनुसार विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १९.२ प्रतिशत र अमेरिकी डलरमा १६.३ प्रतिशतले बढेको छ । २०८२ असार महिनाको विप्रेषण आप्रवाह १८९ अर्ब ११ करोड छ ।
कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १९ अर्ब ५० करोड पुगेको छ । उक्त सञ्चिति १५.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकलदे जनाएको छ ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १२.६ प्रतिशतले वृद्धि भई ७२ खर्ब ६४ अर्व पुगेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा ८.४ प्रतिशतले वृद्धि भई ५४ खर्ब ९८ अर्व पुगेको छ ।






