काठमाडौं । नेपाल राष्ट्र बैंकले एक खर्ब रुपैयाँबराबरको निक्षेप संकलन गर्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले बुधबार सूचना जारी गर्दै ८३ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत एक खर्ब रुपैयाँ निक्षेप संकलन गर्न बोलकबोल आह्वान गरेको हो।

बोलकबोल बुधबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत हुनेछ भने निक्षेप संकलन उपकरणको निष्कासन पनि आजै गरिने जनाइएको छ। बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले निक्षेप संकलन गर्न लागिएको हो ।

ADVERTISEMENT

सूचनाअनुसार निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ। साँवा तथा ब्याज २०८३ असोज २७ गते भुक्तानी गरिनेछ। बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँदेखि कुल आह्वान गरिएको रकमसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

ADVERTISEMENT

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र बोलकबोलमा सहभागी हुन पाउनेछन्। आवेदनमा निक्षेप गर्न चाहेको रकम र दशमलवपछि चार अंकसम्मको ब्याजदर उल्लेख गर्नुपर्नेछ।

सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिँदै आह्वान गरिएको रकमसम्म बोल स्वीकृत गरिनेछ। समान ब्याजदरमा माग बढी भए प्रोराटा आधारमा बाँडफाँट गरिने व्यवस्था छ। सम्पूर्ण वा आंशिक बोल स्वीकृत वा अस्वीकृत गर्ने अधिकार खुला बजार कारोबार सञ्चालन समितिमा रहने सूचनामा जनाइएको छ।

ADVERTISEMENT