सल्यान । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संगठन विस्तार तथा सुदृढीकरण गर्ने उद्देश्यले सल्यानका १० वटै स्थानीय तहमा ‘हामी आउँदै छौँ’ अभियान सञ्चालन गरेको छ। अभियानअन्तर्गत दुई टोली परिचालन गरी अगुवा कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ।

प्रतिनिधिसभा सदस्य रमेशकुमार सापकोटा र कर्णाली प्रदेश महामन्त्री ललित चन्दको नेतृत्वमा रहेको टोलीले प्रदेश सभा (क) अन्तर्गतका बन्गाड कुपिण्डे नगरपालिका, बागचौर नगरपालिका, कुमाख गाउँपालिका, दार्मा गाउँपालिका र सिद्ध कुमाख गाउँपालिकामा कार्यक्रम सञ्चालन गरेको छ।

ADVERTISEMENT

त्यस्तै, प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद पन्त र जिल्ला सभापति प्रकाश नेपालीको नेतृत्वमा रहेको टोलीले प्रदेश सभा (ख) अन्तर्गतका शारदा नगरपालिका, छत्रेश्वरी गाउँपालिका, त्रिवेणी गाउँपालिका, कपुरकोट गाउँपालिका र कालिमाटी गाउँपालिकामा कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया गरेको छ।

ADVERTISEMENT

रास्वपा सल्यानका जिल्ला सचिव श्रीकान्त राईका अनुसार अभियानका क्रममा पार्टी संगठनको अवस्था, स्थानीय तहमा देखिएका समस्या तथा जनताका आवश्यकता र अपेक्षाबारे छलफल गरिएको छ। अभियानले जिल्लामा पार्टी संगठन विस्तार र सुदृढीकरणमा सहयोग पुर्‍याउने उहाँको विश्वास छ।

कार्यक्रममा स्थानीय नागरिक तथा कार्यकर्ताले आफ्ना समस्या, सुझाव र अपेक्षा राखेका थिए। स्थानीय स्तरमा देखिएका समस्या समाधानका लागि पार्टीले पहल गर्नुपर्ने विषयसमेत उनीहरूले उठाएका थिए।

ADVERTISEMENT

अभियान टोलीका नेता तथा प्रतिनिधिसभा सदस्य रमेशकुमार सापकोटाले जनताको आवश्यकता बुझ्न र कार्यकर्ताका सुझाव सङ्कलन गर्न अभियान उपयोगी भएको बताउनुभयो। जनताका आवाज सुनेर स्थानीय समस्या पहिचान गर्ने र समाधानका लागि पहल गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको उहाँको भनाइ छ।

त्यस्तै, प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद पन्तले स्थानीय नागरिक र कार्यकर्तासँगको प्रत्यक्ष संवादले जनताका समस्या बुझ्न तथा पार्टी संगठनलाई थप सुदृढ बनाउन सहयोग पुग्ने बताउनुभयो।

कर्णाली प्रदेश महामन्त्री ललित चन्दले प्रदेशका १० वटै जिल्लामा अभियान उत्साहपूर्ण रूपमा सञ्चालन भइरहेको जानकारी दिनुभयो। अभियानले पार्टीको वास्तविक अवस्था बुझ्न, जनताका अपेक्षा पहिचान गर्न र स्थानीय समस्याको समाधानका लागि आवश्यक पहल गर्न सहज बनाउने उहाँले बताउनुभयो।

अभियानमार्फत जनतासँगको सम्बन्ध विस्तार गर्ने, कार्यकर्ताका सुझाव सङ्कलन गर्ने तथा स्थानीय आवश्यकतालाई पार्टीका आगामी योजना र कार्यक्रममा समेट्ने रास्वपाको लक्ष्य रहेको छ।