काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना सकिएसँगै आगामी संसद्को सम्भावित अंकगणित लगभग स्पष्ट भएको छ।

प्रत्यक्षतर्फ १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक मतको आधारमा करिब ५७ सिट पाउने देखिएको छ। आयोगले औपचारिक रूपमा सिट निर्धारण भने गरिसकेको छैन। तर आयोगले प्रयोग गर्ने ‘सेन्ट–लग’ सूत्रका आधारमा दलहरूले प्राप्त गरेको मतअनुसार सिट बाँडफाँट गर्दा रास्वपालाई ५७ सिट पुग्ने देखिएको हो।

यदि यही संख्या कायम भएमा रास्वपाको कुल सिट १८२ पुग्नेछ। २७५ सदस्यीय प्रतिनिधिसभामा दुई तिहाइ बहुमतका लागि १८४ सिट आवश्यक पर्ने भएकाले रास्वपालाई अझै दुई सिट अपुग हुनेछ। यद्यपि स्वतन्त्र उम्मेदवार महावीर पुन रास्वपाकै समर्थनमा निर्वाचित भएका छन्।

समानुपातिकतर्फ रास्वपाले कुल एक करोड ७ लाख ६४ हजार ८ सय ८९ मतमध्ये ५१ लाख ४६ हजार ६ सय ८१ मत प्राप्त गरेको छ, जुन कुल मतको करिब ४७ प्रतिशतभन्दा बढी हो।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस ले समानुपातिकतर्फ २० सिट पाउने देखिएको छ। कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट जितेकाले अब प्रतिनिधिसभामा उसको कुल ३८ सिट पुग्ने अनुमान गरिएको छ। यो अघिल्लो निर्वाचनको तुलनामा करिब आधाभन्दा बढीले कम हो। यसअघि कांग्रेससँग ८९ सिट थियो।

त्यस्तै नेकपा एमाले ले समानुपातिकबाट १६ सिट पाउने देखिएको छ। प्रत्यक्षतर्फ ९ सिट जितेको एमालेको कुल सिट अब २५ पुग्ने अनुमान गरिएको छ। अघिल्लो प्रतिनिधिसभामा एमालेसँग ७९ सिट थियो। यसपटक एमालेले करिब आधा मत गुमाउँदै १४ लाख ५१ हजार ७५९ मतमा सीमित भएको छ।

नेपाल कम्युनिस्ट पार्टी ले समानुपातिकबाट ९ सिट पाउने देखिएको छ। प्रत्यक्षतर्फ ८ सिट जितेको उक्त पार्टीको कुल सिट १६ पुग्ने अनुमान गरिएको छ। समानुपातिकतर्फ उक्त पार्टीले ८ लाख ८ हजार ५८२ मत प्राप्त गरेको छ।

यसैगरी श्रम संस्कृति पार्टीराष्ट्रिय प्रजातन्त्र पार्टी ले समानुपातिकतर्फ ४–४ सिट पाउने देखिएको छ। प्रत्यक्षतर्फ ३ सिट जितेको श्रम संस्कृतिको कुल सिट ७ पुग्नेछ भने प्रत्यक्षमा १ सिट जितेको राप्रपाको कुल सिट ५ हुने अनुमान गरिएको छ।

चार महिनाअघि मात्र गठन भएको श्रम संस्कृति पार्टीले पहिलो निर्वाचनमै संसद्मा प्रतिनिधित्व सुनिश्चित गरेको छ। तर जनता समाजवादी पार्टी नेपालजनमत पार्टी भने यसपटक कुनै सिट जित्न सकेनन्। यी दुवै दलले समानुपातिकतर्फ आवश्यक तीन प्रतिशत मतको थ्रेसहोल्ड पनि पार गर्न सकेनन्।

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरे का अनुसार अब दलहरूले प्राप्त गरेको सदर मतको आधारमा सिट बाँडफाँटको प्रक्रिया अघि बढाइनेछ। सिट निर्धारण भएपछि सम्बन्धित दलहरूलाई तीन दिनभित्र समानुपातिक बन्दसूचीबाट नाम सिफारिस गर्न पत्र पठाइनेछ।

दलहरूले पठाएको सूची संविधान र कानुनअनुसार मिलेको–नमिलेको आयोगले पुनः परीक्षण गर्नेछ। त्यसपछि आयोगले समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई प्रमाणपत्र प्रदान गर्ने तयारी गरेको जनाएको छ।