काठमाडौं। सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमलले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।न्यायाधीश विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले उम्मेदवारी खारेजविरुद्ध दायर गरिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

सर्वोच्चको उक्त निर्णयसँगै धनुषा क्षेत्र नम्बर १ मा विजयी घोषित भएका नेकपाका उम्मेदवार मातृका प्रसाद यादवको विजय मान्य भएको छ।निर्वाचन आयोगले किशोरी साह कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको भन्दै उनको उम्मेदवारी खारेज गरेको थियो। त्यसपछि आयोगले नेकपाका उम्मेदवार यादवलाई विजयी घोषणा गर्दै निर्वाचित भएको प्रमाणपत्र समेत प्रदान गरेको थियो।

ADVERTISEMENT

मतदानअघि मौन अवधि सुरु भएकै दिन फागुन १९ गते आयोगले उजुरीको आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार साहको उम्मेदवारी खारेज गरेको थियो। सोही दिन साहले आयोगको उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।

ADVERTISEMENT

उम्मेदवारी खारेजसम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै अन्तिम आदेश नआएसम्म मत परिणाम सार्वजनिक नगर्न आयोगलाई निर्देशन दिइएको थियो। तर पछि निर्वाचन आयोगले धनुषा–१ मा नेकपाका उम्मेदवार मातृका प्रसाद यादवलाई विजयी भएको घोषणा गरेको थियो।

साहको पक्षमा अत्यधिक मत आएको दाबी गरिए पनि मुद्दा सर्वोच्चमा विचाराधीन अवस्थामै रहेको बेला आयोगले यादवलाई निर्वाचित घोषणा गर्दै प्रमाणपत्र वितरण गरिसकेको छ।

ADVERTISEMENT