काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको २०औँ वार्षिक साधारणसभा बुधबार काठमाडौंको डिल्लीबजारस्थित अमृतभोगमा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण पारित गर्दै सेयरधनीलाई बोनस सेयर र नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले अनुमोदन गरेको छ।

बैंकका सञ्चालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेको अध्यक्षतामा सम्पन्न सभाले चुक्ता पुँजीको ३.८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

ADVERTISEMENT

बैंकको चुक्ता पुँजी १५ अर्ब ५० करोड ७४ लाख ६३ हजार ६१४ रुपैयाँको ३.८ प्रतिशतका दरले ५८ करोड ९२ लाख ८३ हजार ६१७ रुपैयाँ बराबरको बोनस सेयर वितरण गरिनेछ। त्यसैगरी, ०.२० प्रतिशतका दरले ३ करोड १० लाख १४ हजार ९२७ रुपैयाँ नगद लाभांश वितरण गरिने बैंकले जनाएको छ। दुवै शीर्षकमा गरी कुल ६२ करोड २ लाख ९८ हजार ५४४ रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ।

ADVERTISEMENT

सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणसमेत स्वीकृत गरेको छ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले सेयरधनीबाट प्राप्त सुझावका आधारमा बैंकका गतिविधि सञ्चालन गर्ने र आगामी दिनमा थप प्रगति हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले संस्थागत सुशासन तथा नियामकीय अनुपालनलाई उच्च प्राथमिकतामा राख्दै बैंकलाई अझ सुदृढ बनाउने प्रतिबद्धता पनि जनाउनुभयो।

ADVERTISEMENT

बैंकले फोनपे सँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको जनाएको छ। त्यस्तै, ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’, ‘सिटिजन्स डिजी बैंक सेवा’ तथा ‘फ्रिलान्सर सेभिङ अकाउन्ट’ जस्ता सेवा पनि सञ्चालनमा ल्याएको छ।

बैंकले मोबाइल बैंकिङ एपमार्फत सेयर आवेदन तथा सीआरएन नम्बरसम्बन्धी सेवा लिन सकिने सुविधा उपलब्ध गराएको छ। साथै, क्रस बैंक टेलर सेवामार्फत अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकका शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने व्यवस्था गरिएको जनाएको छ।

सिटिजन्स बैंकले देशभरका ६१ जिल्लामा फैलिएका २०० शाखा, १६७ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ७८ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।