काठमाडौं । लियोनल मेसीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट आफ्नो अन्तिम घरेलु खेलमा गोल गर्दै सुखद बिदाइ लिएका छन्। अर्जेन्टिनाले मैत्रीपूर्ण खेलमा बेनिनलाई ३–० ले पराजित गरेको हो।
ब्युनस आयर्सस्थित मोनुमेन्टल रंगशालामा भएको खेलमा अर्जेन्टिनाका लागि निकोलस ओटामेन्डी, निको पाज र मेसीले गोल गरे। खेलको ४८औँ मिनेटमा ओटामेन्डीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए। उक्त गोलका लागि मेसीले असिस्ट गरेका थिए।
त्यसपछि ६१औँ मिनेटमा निको पाजले अर्जेन्टिनाको अग्रता दोब्बर बनाए। मेसीले ७०औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टोलीको ३–० को जित सुनिश्चित गरे।
मेसीको अन्तिम खेललाई विशेष बनाउन खेलको १०औँ मिनेटमा रेफ्रीले केही समय खेल रोकेका थिए। रंगशालामा उपस्थित ८५ हजारभन्दा बढी दर्शकले उभिएर अर्जेन्टिनाका कप्तानलाई सम्मान गरेका थिए।
३९ वर्षीय मेसीले अर्जेन्टिनाबाट दुई दशकभन्दा बढी समय खेलेका छन्। उनले अर्जेन्टिनालाई २०२२ को विश्वकप तथा २०२१ र २०२४ को कोपा अमेरिकाको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए।







