काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ ३२ मा केप भर्डेलाई ३–२ ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।
मियामी स्टेडियममा सम्पन्न खेलमा नवप्रवेशी केप भर्डेले अर्जेन्टिनालाई कडा चुनौती दिएको थियो। निर्धारित ९० मिनेट १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो।
अर्जेन्टिनाका कप्तान लियोनल मेसीले २९औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर, ५९औँ मिनेटमा डेरोय डुआर्टेले गोल गर्दै केप भर्डेलाई बराबरीमा फर्काए।
अतिरिक्त समयको दोस्रो मिनेटमा लिसान्ड्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई पुनः अग्रता दिलाए। त्यसको ११ मिनेटपछि सिड्नी लोप्स क्याब्रलले गोल गर्दै केप भर्डेलाई दोस्रो पटक बराबरीमा पुर्याए।
खेलको १११औँ मिनेटमा केप भर्डेका डाइनी बोर्जेसबाट भएको आत्मघाती गोल निर्णायक बन्दा अर्जेन्टिनाले ३–२ को रोमाञ्चक जित हात पार्यो।
यस जितसँगै अर्जेन्टिनाले अन्तिम १६ मा स्थान बनाएको छ। अब अर्जेन्टिनाले क्वार्टरफाइनल प्रवेशका लागि इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ।






