काठमाडौँ– फिफा विश्वकप फुटबलअन्तर्गत इङ्ग्ल्यान्ड र साविक विजेता अर्जेन्टिनाबीच हुने दोस्रो सेमिफाइनल खेलअघि सुरक्षा व्यवस्था कडा पारिएको छ।

अमेरिकाको एटलान्टा रङ्गशालामा भोलि राति पौने १ बजे हुने खेललाई ऐतिहासिक तथा राजनीतिक रूपमा संवेदनशील मानिएकाले सुरक्षा व्यवस्था थप सुदृढ बनाइएको बीबीसीले जनाएको छ।

ADVERTISEMENT

सन् १९८२ मा बेलायत र अर्जेन्टिनाबीच फल्कल्यान्ड्स युद्ध भएको थियो। ७४ दिनसम्म चलेको उक्त युद्धमा ६४९ अर्जेन्टिनी सैनिक, २५५ बेलायती सैनिक र तीन सर्वसाधारणको ज्यान गएको थियो। ‘लास माल्भिनास’का रूपमा चिनिने उक्त टापु अहिले पनि दुवै देशबीच सार्वभौमिकताको विवादको विषय बनेको छ।

ADVERTISEMENT

अन्तिम १६ को खेलमा अर्जेन्टिनाले इजिप्टलाई ३–२ ले पराजित गरेपछि अर्जेन्टिनी खेलाडीहरूले फल्कल्यान्ड्स टापु तथा महान् फुटबलर डिएगो म्याराडोना र लियोनेल मेसीको नाम समेटिएको गीत गाएको भिडियो सार्वजनिक भएपछि पनि खेलअघिको चर्चा थप चुलिएको छ।

सन् १९८६ को विश्वकप क्वाटरफाइनलमा म्याराडोनाको चर्चित प्रदर्शनले अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई हराएको थियो। यता, मेसीले भने विश्वकपमा पहिलो पटक इङ्ग्ल्यान्डविरुद्ध खेल्न लागेका छन्।

ADVERTISEMENT

विश्वकप इतिहासमा इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबीच अहिलेसम्म ६ पटक भेट हुँदा दुवै टोलीले समान ३–३ खेल जितेका छन्। उपाधिको हिसाबले अर्जेन्टिनाले तीन पटक र इङ्ग्ल्यान्डले एक पटक विश्वकप जितेको छ।