काठमाडौं । नेपाली कांग्रेसका निर्वतमान सभापति शेरबहादुर देउवाले गगन थापाको नेतृत्वमा भएको विशेष महाधिवेशनलाई आफूले मान्यता नदिएको बताएका छन् । कांग्रेसको इतरपक्षको राष्ट्रिय भेलाको बन्द सत्रमा बोल्दै देउवाले पार्टीको सहमतिबिना जबरजस्ती विशेष महाधिवेशन गरिएको दाबी गरे ।
विशेष महाधिवेशनका विषयमा आफूहरूले अदालतमा मुद्दा दायर गरेको उल्लेख गर्दै उनले अदालतको पूर्ण निर्णय आउन बाँकी रहेकाले यसबारे धेरै टिप्पणी नगर्ने बताए ।
देउवाले भने, ‘पञ्चायतकालदेखि नै न्यायालयले, सर्वोच्च अदालतदेखि सम्पूर्ण न्यायालयले हामीलाई न्याय दिएको हो। वास्तवमा भन्ने हो भने राजाले थुक्दा पनि राजाको आयोगलाई खारेज गरेको हो। पञ्चायतकालमा पनि धेरै जेलबाट छुटेको म। अहिले पनि न्यायालयले मलाई बचाएको छ, जसको कारण म नेपालमा आइपुगेको छु।’
विशेष महाधिवेशनबारे उनले पार्टीको सहमतिबिना अधिवेशन नगर्न आफूले आग्रह गरेको बताए ।
उनले भने, ‘मैले त्यो अधिवेशनलाई मानेको पनि थिइनँ। सबैलाई मैले भनेको थिएँ– पार्टीको सहमतिले ग¥यौँ, विशेष महाधिवेशन यसरी नगर्नु। भन्दा भन्दै जबरजस्ती विशेष महाधिवेशन गरेर अन्याय तरिकाले धेरै साथीहरूलाई बाहिर राखियो। जसको खिलाफमा हामी अदालतमा गयौँ।’
अदालतप्रति आफूलाई पूर्ण विश्वास रहेको बताउँदै देउवाले अदालतको निर्णय आफूले मान्ने स्पष्ट पारे ।
उनले भने, ‘मलाई विश्वास छ, अदालतको पूर्ण निर्णय आउन बाँकी छ। त्योभन्दा अगाडि धेरै कुरा भन्नु छैन। म अदालतलाई पूर्ण विश्वास गर्दै अदालतको कुरा मान्छु।’
बन्द सत्रमा देउवाले धर्मका विषयमा पनि आफ्नो धारणा राखे । आफू व्यक्तिगत रूपमा हिन्दु भएको उल्लेख गर्दै उनले नेपालमा धार्मिक स्वतन्त्रता हुनुपर्ने बताए ।

देउवाले भने, ‘म हिन्दु हुँ। मेरो व्रतबन्ध हिन्दु संस्कारअनुसार भएको हो। जनै पनि हालेको छु। बिहे मैले गुह्येश्वरीमा हिन्दु रीतिरिवाजअनुसार गरेको हुँ। म व्यक्तिगत रूपमा पूरा हिन्दु हुँ।’
नेपालको धार्मिक तथा राजनीतिक स्वरूपबारे निर्णय गर्ने अधिकार नेपाली जनतामै रहेको उनको भनाइ थियो । उनले कुनै पनि धर्म मान्ने अधिकारबाट नागरिकलाई वञ्चित गर्न नहुने बताए ।
‘नेपाल के हुने, के नहुने भन्ने कुरा नेपाली जनताको हातमा छ । तर हिन्दुलाई हिन्दु हुन पाउँदैन भन्नचाहिँ पाइँदैन। म हिन्दु हुँ। त्यसकारण पशुपति पनि जान्छु, पशुपतिनाथको पूजा गर्छु,’ देउवाले भने।
उनले आफू बुद्ध धर्मप्रति पनि सम्मान र सद्भाव राख्ने बताए । ‘मलाई बुद्धप्रति पनि माया छ। बुद्धिजमलाई आज संसारले मानेको छ। बुद्धिजमलाई वैज्ञानिक धर्म पनि मानेका छन्,’ उनले भने।
देउवा समूहकाे भेला सकिएकाे छ । पाँचबुँदे निर्णय गर्दै भेला सकिएकाे हाे । भेलाले नियमित महाधिवेशन गर्ने जिम्मा शशांक काेइरालालाई दिएकाे छ ।
यी हुन् पारित पाँच प्रस्ताव
- १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५ औ महाधिवेशन सम्पन्न गरिनेछ र श्री शेरबहादुर देउवाको सभापतित्वमा १५ औं महाधिवेशन सम्पन्न हुनेछ। उहाँकै नेतृत्वमा पार्टी एकतावद्ध भई १५ औं महाधिवेशन सम्भव हुने दृढ विश्वास यो सम्मेलनले व्यक्त गर्दछ । १५ औं महाधिवेशनसम्म आवश्यक पार्टीको नियमित कृयाकलाप देउवाको निर्देशनमा राष्ट्रिय भेला र सम्मेलनका संयोजकले नै संयोजन गर्दै जानु हुनेछ ।
- २०३३ सालमा महामानव बीपी कोइरालाले देशमा विद्यमान राष्ट्रिय संकटलाई ध्यानमा राष्ट्रिय एकता र मेलमिलापको नीतिलाई ध्यानमा राखि देश फर्कनु भएको थियो । आज पनि देश अप्ठेरो स्थितिमा छ यस अवस्थामा राष्ट्रिय एवं लोकतन्त्रवादी शक्तीहरुसंग संवाद गरी राष्ट्रियता, लोकतन्त्रको सुदृढिकरणका लागि कृयाशील रहने ।
- नेपालको सनातनदेखि चली आएको धर्म संस्कृति हाम्रो राष्ट्रिय पहिचान पनि हो । नेपालम रहि आएको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र हरेक व्यक्ति र धार्मिक समुदायको आफ्नो धर्म मान्ने धार्मिक स्वतन्त्रतालाई सुनिश्चित देखि चलिआएको हिन्दु, बौद्ध, किरात र प्राकृत धर्मको संरक्षण गर्ने दायीत्वलाई दृष्टिगत गरि सनातन धर्मलाई राष्ट्रिको पहिचान रुपमा राष्ट्रलाई अघि बढाउने प्रतिवद्धता गर्नेछ ।
- वर्तमान संविधानमा जन अपेक्षा बमोजिम आवश्यक संशोधन गर्न संविधान भएको व्यवस्था अनुसार नै सम्बन्धित सबैसंग सम्वाद गरि निकाश दिइने छ ।
- २०८३ श्रावण २० र २१ गते सम्पन्न नेपाली कांग्रेसको राष्ट्रिय सम्मेलनमा प्रस्तुत विभिन्न प्रस्ताव र सुझावहरुलाई समेत समेटी परिमार्जन सहित पारित प्रस्तावहरुलाई लिखित गर्ने जिम्मेवारी केन्द्रीय सदस्य एन. पी. साउदको संयोजकत्वमा केन्द्रीय सदस्य उमाकान्त चौधरी, केन्द्रीय सदस्य सिता राना र सहयोगीमा केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा र दीपक प्रसाद कुइकेल रहनु हुनेछ ।





