काठमाडौं । कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवाविरुद्धको पक्राउ पुर्जीबारे सोमबार सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी तोकिएको छ । न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा सुनुवाइ हुँदै छ ।
यसअघि न्यायाधीश मेघराज पोखरेलको इजलासले देउवाको तर्फबाट दायर रिटमा सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गर्ने र नगर्ने विषयमा छलफलका लागि झिकाउन आदेश दिएको थियो । आज दुवै पक्षबीच छलफल हुने भएको छ ।
देउवाविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको छ । सर्वोच्चमा उनले उक्त मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतको भएको उल्लेख गरेका छन् ।
काठमाडौं जिल्ला अदालतसँग क्षेत्राधिकार नै नभए पनि पुर्जी जारी भएको रिटमा उल्लेख गरेका छन् । देउवाले अनुसन्धानमा सहयोग गर्न मन्जुर भएको, सम्पत्तिको स्रोत देखाउन तयार रहेको र पक्राउ गर्नुपर्ने अवस्था नरहेको जिकिर गरेका छन् ।
देउवा दम्पती पछिल्लो समय हङकङ गएका थिए । उनी अहिलेसम्म काठमाडौं फर्किएका छैनन् । उनीविरुद्ध विभागले रेड कर्नर नोटिस जारी गर्न प्रक्रिया थालेको थियो । तर इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको छैन । इन्टरपोलले देउवाविरुद्ध पक्राउ पुर्जी जारी गर्न प्रमाणको अभाव भएको स्पष्ट पारेको छ ।








