काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको दायाँ हात भाँचिएको छ । हङकङमा रहेका देउवा केही दिनअघि बाथरुममा लड्दा दायाँ हात भाँचिएको हो ।
उपचारपछि उनी अस्पतालबाट डिस्चार्ज भइसकेको र अवस्था सामान्य रहेको पारिवारिक स्रोतले जानकारी दियो । तर देउवा सचिवालयले यसलाई आधारहीन हल्ला र भ्रामक भन्दै समाचारप्रति ध्यानाकर्षण भएकाे जनाएकाे छ । देउवा नलडेकाे र हातसमेत नभाँचिएकाे जनाइएकाे छ ।
समाचार पूर्ण रूपमा असत्य र निराधार रहेको स्पष्ट पार्न चाहन्छौं। सम्बन्धित व्यक्तित्व न त लड्नुभएको छ, न त उहाँको हात भाँचिएको छ। कुनै पनि आधिकारिक पुष्टि बिना यस्ता हल्ला फैलाउनु गैरजिम्मेवार कार्य हुनुका साथै समाजमा भ्रम सिर्जना गर्ने प्रयास हो,’ देउवा सचिवालयले शुक्रबार अपराह्न जारी गरेको विज्ञप्तिमा छ ।
देउवा श्रीमती आरजु राणा देउवालाई लिएर फागुनको चुनावअघि नै सिंगापुर गएका थिए । गत भदौको जेनजी आन्दोलनमा सांघातिक आक्रमणमा परेका देउवा दम्पती उपचारका लागि सिंगापुर गएका थिए । उपचार सकिएपछि दुवैजना गत चैत ७ गते हङकङ गएका थिए ।
केही समयअघि देउवा दम्पती मर्निङ वाकमा हिँडेको, हङकङ सिटी सेन्टरमा सपिङमा गएको भिडियो सार्वजनिक भएको थियो । नेपालमा दुवैजना विरुद्ध सम्पत्ति शुद्धीकरणको अनुसन्धान जारी छ । उनीहरू नेपाल फर्किने नफर्किने यकिन छैन । आरजुले भने साउनकाे २८ गते नेपाल आउने इमेल लेखेकी थिइन् ।





