काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को मध्यबिन्दु नगरपालिका–११, बाहुनिकुनामा बोलेरो पिकअप र ट्याक्टर आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

बुधबार (मंसिर ९) राति करिब ९:०० बजे लु.२ च. ८९९७ नम्बरको बोलेरो पिकअप र विपरीत दिशाबाट आइरहेको लु.२ त. २४१७ नम्बरको ट्याक्टर एकआपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

ADVERTISEMENT

दुर्घटनामा बोलेरोमा सवार विनयी त्रिवेणी गाउँपालिका–४ सर्दी बस्ने ३० वर्षीय चुरेन्द्र चौधरीको उपचारका क्रममा राति १०:३५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

उक्त दुर्घटनामा परी विनयी त्रिवेणी–४ का १६ वर्षीय रविन चौधरी, २० वर्षीय रिजन चौधरी, २३ वर्षीय विशाल राना, १५ वर्षीय श्याम चौधरी, १८ वर्षीय गुल्सन थापा, १९ वर्षीय युवराज चौधरी तथा २६ वर्षीय सुमेन्द्र चौधरी घाइते भएका छन् ।

यस्तै, मध्यबिन्दु नगरपालिका–१० का २१ वर्षीय आदिश आले, १८ वर्षीय अश्विन चौधरी, २० वर्षीय निर्मल चौधरी, १५ वर्षीय प्रिन्स विक, ४० वर्षीय खेमनारायण चौधरी र २६ वर्षीय घनश्याम चौधरी घाइते भएका छन् ।

घाइतेमध्ये रविन चौधरी, रिजन चौधरी, विशाल राना, श्याम चौधरी, गुल्सन थापा र युवराज चौधरीलाई थप उपचारका लागि राति ११:५५ बजे नयाँ मेडिकल कलेज भरतपुर रिफर गरिएको छ । अश्विन चौधरी र निर्मल चौधरीलाई पनि थप उपचारका लागि सोही अस्पताल रिफर गरिएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा संलग्न दुवै सवारीसाधन र चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।