काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म १५औँ महाधिवेशन गर्ने भएको छ। पार्टीको महाधिवेशनलाई लिएर गगन थापा नेतृत्वको पक्ष र देउवा पक्षले छुट्टाछुट्टै प्रक्रिया अघि बढाइरहेका छन्।

देउवा पक्षले अघि सारेको कार्यतालिकाअनुसार मंसिर २१–२३ गते काठमाडौंमा केन्द्रीय महाधिवेशन हुनेछ। त्यसअघि असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने तयारी छ।

ADVERTISEMENT

देउवा पक्षको महाधिवेशनमा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी, निर्वाचित तथा मनोनीत केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य र प्रदेश सभापतिहरू स्वतः महाधिवेशन प्रतिनिधि रहने व्यवस्था गरिएको छ।

ADVERTISEMENT

यसअनुसार उनीहरूले महाधिवेशन प्रतिनिधि बन्न सम्बन्धित वडाबाट निर्वाचन लडेर आउनुपर्ने छैन। पछिल्लो निर्वाचनमा प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका प्रत्यक्ष तथा समानुपातिक सांसद र सांसदका उम्मेदवारलाई समेत सम्बन्धित क्षेत्रको प्रतिनिधि रहने व्यवस्था गरिएको छ।

यता, गगन थापा नेतृत्वको पक्षले अघि बढाएको महाधिवेशन प्रक्रियामा भने केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोटका लागि तल्लो तहबाट अधिवेशन भइरहेको छ। थापा नेतृत्वको पक्षले असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका अघि सारेको छ।

ADVERTISEMENT

देउवा पक्षले पार्टीका विभिन्न तहका संरचनामा युवा प्रतिनिधित्वलाई पनि अनिवार्य बनाएको छ। वडा कार्यसमितिमा १८ देखि २८ वर्ष उमेर समूहका कम्तीमा एक महिला र एक पुरुष तथा ४० वर्षमुनिका कम्तीमा एक महिला र एक पुरुष रहने व्यवस्था गरिएको छ।

त्यस्तै, प्रदेश अधिवेशन प्रतिनिधिमा दुई जना युवा रहने र केन्द्रीय महाधिवेशन प्रतिनिधिमा प्रत्येक निर्वाचन क्षेत्रबाट ४० वर्षमुनिका कम्तीमा एक महिला र एक पुरुष प्रतिनिधि आउने व्यवस्था गरिएको छ। विज्ञ र श्रमिकबाट समेत प्रत्येक क्षेत्रबाट दुई जना महाधिवेशन प्रतिनिधि रहने व्यवस्था थप गरिएको छ।

देउवा पक्षले कुनै पनि तहको पदमा उम्मेदवार बन्न क्रियाशील सदस्यताको समयावधिसम्बन्धी हद लागू नहुने व्यवस्था गरेको जनाएको छ। यससँगै नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशनका लागि दुई छुट्टाछुट्टै कार्यतालिका अघि बढेका छन्। देउवा पक्षले आफ्नो प्रक्रिया समानान्तर रूपमा अघि बढाइरहेको छ।