मोरङ । मोरङको कानेपोखरी गाउँपालिका–६ मा १४ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा उनका ५५ वर्षीय ससुरा पक्राउ परेका छन्। घटनापछि किशोरीलाई कुटपिट गरी त्यसको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्ने उनका २३ वर्षीय श्रीमान् पनि पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गत कात्तिक २९ गते राति घरमै ससुरा जयराम दर्जीले किशोरीमाथि जबरजस्ती करणी गरेको सूचना पाएपछि प्रहरीले उनलाई तत्काल पक्राउ गरेको थियो।
दर्जीविरुद्ध मंसिर १ गते अदालतबाट म्याद थप गरी जबरजस्ती करणीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए।
यसैबीच, घटनालाई लिएर किशोरीका श्रीमान्ले आफ्नी आमालाई समेत सँगै राखेर पीडितलाई सोधपुछ गर्दै कुटपिट गरेका थिए। उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा अपलोड भएपछि प्रहरीले उनका श्रीमान्लाई पनि पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनीमाथि इलाका प्रहरी कार्यालय पथरीबाट विद्युतीय अपराध तथा बालविवाहसम्बन्धी कसुरमा समेत थप अनुसन्धान भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिविरुद्ध हुने अपराधमा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै कानुनी कारबाही अघि बढाइरहेको जनाएको छ।












