काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पार्टीको १५औँ महाधिवेशनको तयारीलाई अघि बढाउँदै काठमाडौंको चुनदेवीमा विस्तारित बैठक आयोजना गरेको छ।

१५औँ महाधिवेशन तयारी समितिको बैठक आज चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको हो। समितिको सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइँकेलका अनुसार बैठक केहीबेरअघि सुरु भएको हो।

ADVERTISEMENT

बैठकमा कांग्रेसका केन्द्रीय पदाधिकारी तथा सदस्य, पूर्वपदाधिकारी, सांसद, पूर्वसांसद, सातै प्रदेशका पदाधिकारी, जिल्ला सभापति तथा संयोजक सहभागी छन्।

ADVERTISEMENT

त्यस्तै, महाधिवेशनका लागि जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधि तथा भ्रातृ र शुभेच्छुक संस्थाका अध्यक्ष एवं पदाधिकारीलाई पनि बैठकमा बोलाइएको छ।

प्रदेशसभा सदस्य, पूर्वप्रदेशसभा सदस्य, भ्रातृ तथा शुभेच्छुक संस्थाका पूर्वपदाधिकारी र काठमाडौं उपत्यकाभित्रका क्षेत्रीय सभापति तथा जिल्ला पदाधिकारीसमेत बैठकमा सहभागी भएका छन्।

बैठकमा १५औँ महाधिवेशन तयारी समितिका संयोजक शशांक कोइरालालगायत नेताहरूको उपस्थिति रहेको छ।

देउवा पक्षले आगामी मंसिर २१ देखि २३ गतेसम्म १५औँ महाधिवेशन गर्ने तयारी गरेको छ। महाधिवेशनको तयारी, संगठनात्मक समन्वय र आवश्यक प्रक्रियाबारे बैठकमा छलफल हुने बताइएको छ।