काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर पक्षका नेता पूर्णबहादुर खड्काले तराई–मधेशमा भएको पछिल्लो घटनालाई ‘ट्रेलर’को संज्ञा दिँदै अझ ठूलो संकट आउन सक्ने चेतावनी दिएका छन्।

शुक्रबारबाट सुरु भएको कांग्रेसको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै खड्काले यस्ता घटनाबाट देशलाई जोगाउन कांग्रेस एकताबद्ध हुनुपर्ने बताए।

उनले भदौ २४ गतेदेखि सुरु भएको राजनीतिक घटनाक्रम अझै जारी रहेको दाबी गर्दै विशेष महाधिवेशन वा आगामी निर्वाचनका नाममा अघि बढिरहेको ‘रोडम्याप’ रोक्न नसके अवस्था थप गम्भीर बन्न सक्ने बताए।

ADVERTISEMENT

मधेशमा हालै भएको जातीय द्वन्द्वको घटनातर्फ संकेत गर्दै खड्काले भने, “मेरो अन्तरआत्माले भन्छ, त्यो ट्रेलर हो । फिल्म सुटिङ हुनै बाँकी छ।”

ADVERTISEMENT

खड्काले नेपालको राष्ट्रियता जोखिममा रहेको दाबी गर्दै त्यसको संरक्षणका लागि पहिलो आवश्यकता नेपाली कांग्रेसको एकता भएको बताए।

उनका अनुसार सबै राष्ट्रवादी शक्तिलाई एकताबद्ध गर्दै छिमेकी मुलुकसँगको सम्बन्धमा समेत आवश्यक ध्यान पुर्‍याएर अघि बढ्नुपर्ने अवस्था आएको छ।

“नेपालको राष्ट्रियतामा खतरा छ । त्यसलाई जोगाउनका लागि पहिलो शर्त हो नेपाली कांग्रेसको एकता,” उनले भने, “यदि हामीले सबै राष्ट्रवादीलाई एकताबद्ध बनाएर हाम्रा छिमेकीसँग ध्यान पुर्‍याएर अघि बढ्न सकेनौं भने भदौ २४ भन्दा ठूलो स्थिति आउने देखिन्छ।”

देशमा आउन सक्ने सम्भावित संकट सामना गर्न कांग्रेस एकताबद्ध भएर अघि बढ्नुपर्नेमा उनले जोड दिए।