काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

बुधबार पार्टी कार्यालय सानेपामा बसेको अनुशासन समिति बैठकले खड्कालाई सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको समितिका संयोजक तारामान गुरूङले जानकारी दिए। आफूले नपाएको पद र लेटरप्याडको दुरुपयोग गरेको ठहर गर्दै सात दिनभित्र स्पष्टीकरण पेस गर्न भनिएको छ ।

ADVERTISEMENT

‘अनुशासन समितिको चैत १८ गतेको निर्णयानुसार विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरुमा कांग्रेसको नक्कली लेटरप्याड वनाएर प्रयोग गरी आफूसँग नभएको जिम्मेवारी उल्लेख गर्दै आफू पार्टीको जिम्मेवारीमा छु भनी चैत १४ गते अनाधिकृत बक्तब्य जारी गर्ने कार्य गलत भएकोले एकपटकका लागि सचेत गराउने निर्णय भएको थियो,’ बैठकको निर्णयमा भनिएको छ, ‘यसरी अनुशासन समितिबाट सचेत गराउँदा गराउँदै पनि पुनः चैत ३० गतेका दिन कांग्रेसको नक्कली लेटरप्याड वनाएर प्रयोग गरी आफूसँग नभएको जिम्मेवारी उल्लेख गर्दै आफू पार्टीको जिम्मेवारीमा छु भनी कांग्रेसको पूर्वउपसभापति पूर्णबहादुर खड्काद्धारा अनधिकृत रुपमा मिति प्रेस विज्ञप्ती जारी गर्ने कार्य पार्टीको विधानविपरित देखिएकोले कांग्रेसको विधान २०१७, (संशोधन सहित) को धारा ३४ को उपधारा ८ (घ) बमोजिम सात दिने स्पष्टीकरण सोध्ने निर्णय गर्दछ ।’

बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा नेता कार्यकर्ताले अनुशासन उल्लंघन गरेको भए उजुरी दिन चैत मसान्तसम्म म्याद तोकिएकामा त्यसलाई बढाएर वैशाख मसान्तसम्म पुर्याइएको छ । त्यसपछि आएका उजुरीबारे कुनै कारबाही प्रक्रिया अघि नबढाइने गुरुङले बताए ।

ADVERTISEMENT

खड्काले कांग्रेस महाधिवेशन प्रकृया अघि बढाउने सिलसिलामा १ वैशाखदेखि सुरु भएको सदस्यता अद्यावधिक गर्ने अभियानको विरोध गर्दै सोमबार विज्ञप्ति निकालेका थिए । उक्त विज्ञप्तिपछि समितिको बैठक बुधबारका लागि बोलाइएको हो । अनुशासन समितिको बैठक सकिएलगतै आजै २ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्नेछ ।

महामन्त्री गुरुराज घिमिरेले समितिले अध्ययनका आधारमा गर्नुपर्ने काम गर्ने भन्दै त्यसमा पार्टीले हस्तक्षेप नगरेको बताए । उनले कारबाही भएर पार्टीमा पुनरावेदन आएमा मात्रै केन्द्रीय कार्यसमितिले हेर्न मिल्ने बताए ।