काठमाडौं। नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले जिल्ला सभापतिहरूको भेला आह्वान गरेका छन्। पार्टीभित्र देखिएको मतभेद र आगामी रणनीति तय गर्ने उद्देश्यसहित उनले यस्तो भेला बोलाएका हुन्।
खड्कानिकट स्रोतका अनुसार, उक्त भेला चैत १९ गते आयोजना गर्ने तयारी गरिएको छ। विशेष महाधिवेशनको बिपक्ष उभिएका जिल्ला सभापतिहरूलाई केन्द्रमा राखेर यो भेला आयोजना गर्न लागिएको बताइएको छ।
यसैबीच, १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक पनि बोलाइएको छ। सो बैठक काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट पार्टी प्यालेसमा मंगलबार बिहान ११ बजेदेखि सुरु हुने र दुई दिनसम्म सञ्चालन हुने जानकारी प्राप्त भएको छ।
बैठकमा विशेष महाधिवेशनमा सहभागी नभएका प्रदेश सभापतिहरूलाई समेत आमन्त्रण गरिएको छ। यसअघि सम्पन्न विशेष महाधिवेशनमा कोशीका उद्दव थापा, मधेशका कृष्ण यादव, बागमतीका इन्द्रबहादुर बानियाँ, कर्णालीका ललितजंग शाही र सुदूरपश्चिमका वीरबहादुर बलायर सहभागी भएका थिएनन्।
पार्टीभित्र देखिएको आन्तरिक मतभेद समाधान गर्ने, संगठन सुदृढ बनाउने र आगामी राजनीतिक रणनीति तय गर्ने विषयमा बैठकमा छलफल हुने बताइएको छ।






