काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको पुरानो केन्द्रीय समितिको बैठक धुम्बाराहीस्थित होटल स्मार्टमा सुरु भएको छ ।

निवर्तमान कार्यवाहक सभापति खड्का, शेखर कोइराला, विमलेन्द्र निधि, एनपी साउद, श्याम घिमिरे, मोहनबहादुर बस्नेत, मदन अमात्य, आनन्दप्रसाद ढुंगाना, राजीवविक्रम शाह, कुन्दन काफ्लेलगायत नेताहरू होटल पुगिसकेका छन् ।

ADVERTISEMENT

पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेका खड्काले १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय केन्द्रीय समितिको बैठक बोलाएका हुन् ।

पार्टी आधिकारिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला पुरानो कार्यसमितिको बैठक बोलाएपछि कांग्रेसमा विवाद उत्कर्षमा पुगेको छ । खडका–शेखर कोइरालाले दुई दिने बैठक राखेका हुन् । यो बैठकले कांग्रेसबाट अलग हुने निर्णयसमेत गर्न सक्ने बताइन्छ । खड्का–कोइराला समूहमा रहेका अधिकांश नेताले हालै सम्पन्न निर्वाचनमा घन्टीमा भोट हाल्न पार्टीका कार्यकर्ता र समर्थकलाई आह्वान गरेका थिए ।

जसमा सिन्धुपाल्चोकका मोहन बस्नेत र ललितपुरका मदन अमात्य प्रमुख छन् । बस्नेत चुनावको तीन दिनअघि बाह्रबिसे गएर पार्टीका कार्यकर्तालाई बोलाएर रास्वपा उम्मेदवारलाई जिताउन भनेको आरोप छ । उनले सुनकोशी गाउँपालिकाका पूर्वअध्यक्षमार्फत रास्वपा उम्मेदवारसँग २० लाख रुपैयाँ लिएको चर्चा अहिले सिन्धुपाल्चोकमा छ ।

अमात्यले भने चुनाव प्रचार प्रसारका क्रममा ललितपुरको बाँडेगाउँ, ठैब, हरिसिद्धि जहाँ आफ्नो पकड छ त्यहाँ त्यहाँ पुगेर घन्टीमा भोट हाल्न भनेका थिए । जसकारण एक दिन पनि मतदाताको घरमा नपुगी रास्वपा उम्मेदवार तोसिमा कार्की विजयी भएको बताइन्छ । अघिल्लो निर्वाचनमा पनि आफूले टिकट नपाएपछि अमात्यले खुलेआम रास्वपालाई सघाउने घोषणा गरेका थिए । यसपटक पनि त्यही भयो ।