काठमाडौं। नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगनकुमार थापालाई १५औँ महाधिवेशनको कार्यतालिका केही समय स्थगित गरी पूर्वसभापति शेरबहादुर देउवासहित अग्रज नेताहरूसँग तत्काल संवाद गर्न आग्रह गरेका छन्।
बिहीबार थापालाई सम्बोधन गर्दै खड्काले विगतमा आफूहरूबीच भएको संवादकै क्रममा निर्णय भएको भए कांग्रेस एकताबद्ध भएर सानेपामा उभिन सक्ने अवस्था बन्ने दाबी गरेका छन्।
खड्काले असोज ३ गतेदेखि सुरु गर्ने घोषणा गरिएको महाधिवेशनको कार्यतालिका केही समयका लागि स्थगित गरेर पार्टीभित्र सहमतिको वातावरण बनाउन थापालाई आग्रह गरेका हुन्।
त्यसपछि १४औँ महाधिवेशनबाट निर्वाचित पूर्वसभापति शेरबहादुर देउवासहित अग्रज नेताहरूसँग थापाले आफ्नै अग्रसरतामा तत्काल वार्ता तथा संवाद सुरु गर्नुपर्ने उनको भनाइ छ। ‘पार्टीको सम्पूर्ण एकता अझै सम्भव छ,’ खड्काले भनेका छन्।
उनले कांग्रेसका दुई पक्षबाट अलग–अलग महाधिवेशन गरिए पार्टी विभाजन रोक्न कठिन हुने चेतावनीसमेत दिएका छन्। साथै थापालाई कानुन, अदालतको निर्णय वा पार्टी विधानका कारण समस्या नपर्ने दाबी गर्दै तत्काल निर्णायक पहल गर्न आग्रह गरेका छन्।
कांग्रेसभित्र १५औँ महाधिवेशनको मितिलाई लिएर दुई पक्षबीच फरक–फरक कार्यतालिका अघि बढिरहेका छन्। गगन थापा नेतृत्वको पक्षले असोज १६–१९ गते महाधिवेशन गर्ने कार्यतालिका अघि सारेको छ भने देउवा पक्षले मंसिर २१–२३ गते महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।
यसबीच पार्टीभित्र सहमति र संवादका लागि विभिन्न नेताहरूले महाधिवेशनका कार्यतालिका स्थगित गरेर वार्तामा बस्न आग्रह गर्दै आएका छन्।






