काठमाडौं । नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले एकताको आह्वान गरेका छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा केन्द्रीय कार्यसमिति भंग गरेर नयाँ कार्यसमिति चयनमा विशेष महाधिवेशन अघि बढेपछि खड्काले एकताको आह्वान गरेका हुन् ।
विशेष महाधिवेशनको पक्षमा बहुमत संख्या पुगेपछि पनि त्यसलाई नजरअन्दाज गर्दै खड्काले कुनै सम्बोधन गरेका छैनन् । कतै सच्चिने कुरा पनि उल्लेख छैन । मात्र फागुन २१ को निर्वाचन नजिकिँदैछ, विभाजन नहोऔं भनिएको छ ।
‘अहिले मुलुक गम्भीर अवस्थामा छ । देशको सर्वोच्च जननिर्वाचित संस्था प्रतिनिधि सभा विघटन भएको छ । अन्योल र अनिश्चितताको वर्तमान अवस्थामा देश र लोकतन्त्रका बारेमा सर्वत्र चासो र चिन्ता व्याप्त छ । आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन तोकिएको छ । उक्त निर्वाचनमार्फत संविधानलाई लिकमा ल्याई लोकतान्त्रिक संवैधानिक व्यवस्था सुचारू गर्न आवश्यक छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस अवस्थामा नेपाली कांग्रेस एकताबद्ध, संगठित र सुदृढ हुन अपरिहार्य छ, तर नेपाली कांग्रेसमा अहिले असहज र अन्योलको स्थिति उत्पन्न भएको छ । नेपाली कांग्रेसले देशमा बिषम परिस्थिति उत्पन्न भएको बेला इतिहासको विभिन्न कालखण्डमा परिस्थितिको सहि मूल्यांकन गरी आफ्नो नेतृत्वमा उचित निकास दिएको हाम्रो इतिहास छ ।’
खड्काले आगामी वैशाखमा १५औं महाधिवेशनमा आवश्यक नीति परिमार्जन र नेतृत्व चयन गर्न सकिने भन्दै अहिले चुनावमा ध्यान दिनुपर्ने उल्लेख गरेका छन् ।
‘नेपाली कांग्रेस राष्ट्रियता र लोकतन्त्रको धरोहरका रूपमा स्थापित भएको हुँदा हाम्रो काँधमा फेरी एकपटक ऐतिहासिक जिम्मेवारी आएको छ । प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गरेपछि आगामी २०८३ वैशाखमा हुने १५औं महाधिवेशनबाट नेपाली कांग्रेसको नीतिमा आवश्यक परिमार्जन र नेतृत्व सहज रूपले परिवर्तन गर्न सकिने अवस्था सुनिश्चित छँदैछ । तसर्थ, अहिले प्रतिनिधि सभा निर्वाचनमा सम्पूर्ण पार्टी पंक्ति एकताबद्ध भई अभियानको रूपमा लाग्न आवश्यक छ,’ विज्ञप्तिमा उनले भने ।
जारी विशेष महाधिवेशनमा महामन्त्रीद्वय थापा र शर्माले राजनीतिक र समसामयिक प्रस्ताव पेस गरिसकेका छन् । जसमा पार्टीदेखि राज्यका संरचनामा सुधार र पुनरावलोकनका विषय उल्लेख गरिएको छ । तर कार्यबाहक सभापति खड्काले यी सबै दृश्यलाई देख्न चाहेको देखिएन । सभापति शेरबहादुर देउवाको निर्देशनमा खड्काले एकता आह्वान गरेका हुन् । तर विशेष महाधिवेशन पक्षधरले यसलाई स्वीकार्ने देखिन्न ।








