काठमाडौँ। विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्ने उद्देश्यले निर्वाचन आयोगले कानुनी तथा सूचना प्रविधिसम्बन्धी सुधारको अध्ययन गर्न दुई छुट्टाछुट्टै समिति गठन गर्ने निर्णय गरेको छ।
आयोगको बुधबार बसेको बैठकले विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न आवश्यक कानुनी व्यवस्था र सूचना प्रविधिको प्रयोगबाट निर्वाचन प्रक्रियालाई थप सुरक्षित, पारदर्शी, प्रभावकारी, समावेशी तथा विश्वसनीय बनाउने विषयमा अध्ययन गरी प्रतिवेदन तयार गर्न समिति गठन गर्ने निर्णय गरेको हो।
विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार प्रदान गर्न आवश्यक कानुनी व्यवस्थाको अध्ययन गर्न निर्वाचन आयुक्त गुरु प्रसाद वाग्लेको संयोजकत्वमा समिति गठन गरिएको छ। समितिमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयका प्रतिनिधि रहनेछन्।
त्यस्तै, निर्वाचन प्रक्रियामा सूचना प्रविधिको प्रयोगसम्बन्धी सुधारको अध्ययन गर्न निर्वाचन आयुक्त डा. राजिव सुब्बाको संयोजकत्वमा अर्को समिति गठन गरिएको छ। उक्त समितिमा परराष्ट्र मन्त्रालय, एकीकृत डाटा व्यवस्थापन केन्द्र, साइबर ब्यूरो (नेपाल प्रहरी) लगायतका निकायका प्रतिनिधि रहनेछन्।
दुवै समितिले काम प्रारम्भ गरेक मितिले ३० कार्य दिनभित्र अध्ययन प्रतिवेदन आयोगसमक्ष पेस गर्नेछन्।






