काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्यको चुनावको तयारी अन्तर्गतका ६० प्रतिशत काम सकिएको बताएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले बुधबार आगामी निर्वाचनको तयारीका विषयमा निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी छन् ।

छलफलमा आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन तयारीअन्तर्गतका ६० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको जानकारी गराएका हुन् ।

हालसम्मको मूल्यांकनमा आउँदो फागुन २१ गते निर्वाचन सम्पन्न गर्न सकिने विश्वास रहेको पनि आयोगले प्रधानमन्त्री समक्ष ब्रिफिङ गरेको छ ।आयोगमा दर्ता रहेका र वडा सदस्यसम्म मात्र पनि विजय भएका दलहरूसँग छलफल गर्दा अहिलेसम्म कसैले पनि निर्वाचनमा भाग लिन नसकिने भन्ने भाव व्यक्त नगरेको कार्यवाहक प्रमुख आयुक्त भण्डारीले जानकारी दिए ।
बरु विगतमा निर्वाचन बहिष्कार गरी बाधा–विरोध गर्ने समूह र दलहरूसमेत अहिले आयोगमा दर्ता भएर चुनावमा भाग लिन तत्पर भएको उल्लेख गर्दै उनले विगतमा भन्दा अझै सहज वातावरण बन्दै गएको बताए ।