काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले चुनौतीपूर्ण र जटिल परिस्थितिका बीच सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनप्रति सन्तोष व्यक्त गरेका छन्। उनले निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न भएको उल्लेख गर्दै यसले लोकतान्त्रिक प्रणालीलाई थप मजबुत बनाएको बताएका छन्।

बिहीबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा निर्वाचन आयोगले तयार पारेको फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनसम्बन्धी प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरिएको थियो। सो अवसरमा निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले प्रतिवेदन हस्तान्तरण गरेका थिए।

प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति पौडेलले निर्वाचन आयोगले आफ्नो जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेकोमा प्रशंसा गरे। उनले भने, “फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नु आयोगको ठूलो उपलब्धि हो।”

उनका अनुसार, यस निर्वाचन प्रक्रियाले निर्वाचन आयोग र समग्र निर्वाचन प्रणालीप्रति आम नागरिकको विश्वास अभिवृद्धि गरेको छ। “यसले लोकतन्त्र अझ सुदृढ भएको अनुभूति दिलाएको छ,” राष्ट्रपति पौडेलले उल्लेख गरे।

कार्यक्रममा सहभागी सरोकारवालाहरूले पनि निर्वाचन प्रक्रियामा देखिएको पारदर्शिता, व्यवस्थापन र मतदाताको उत्साहजनक सहभागितालाई सकारात्मक रूपमा मूल्यांकन गरेका थिए। कठिन परिस्थितिका बाबजुद निर्वाचन सफलतापूर्वक सम्पन्न हुनु देशको लोकतान्त्रिक अभ्यासका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ।

उक्त प्रतिवेदनमा निर्वाचनको समग्र प्रक्रिया, व्यवस्थापन, सहभागिता, सुरक्षा व्यवस्था तथा सुधारका सम्भावनाबारे विस्तृत विवरण समेटिएको जनाइएको छ।