काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा निर्वाचनका लागि सञ्चार माध्यमहरुले आधिकारिक स्रोतलाई मात्र आधार मानेर समाचार एवं सूचनाको प्रवाह गर्न आग्रह गरेका छन् ।
सार्वजनिक सेवा प्रसारण नेपालले सोमबार आयोजना गरेको प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ आचारसंहिता अभिमुखीकरण विषयक कार्यक्रममा उनले निर्वाचनका क्रममा भ्रामक समाचार फैल्याउनबाट जोगिन सुझाव दिएका हुन् । उनले नागरिकलाई यतिबेला अत्यन्त सत्यतथ्य समाचार सामग्रीको खाँचो हुने हुँदा खास गरी सञ्चार माध्यमलले आचारसंहिताको पालना गर्ने र गराउने भूमिका निर्वाह गर्नुपर्ने बताए ।
‘सञ्चार माध्यमले सकेसम्म निर्वाचनका समाचार लेख्दा आधिकारिक स्रोतमा मात्रै आधार बनाउनुहुन अनुरोध गर्छु,’ उनले भने । डिजिटल प्लेटर्फम कृत्रिम बुद्धिमता (एआई) जस्ता एप्स प्रयोग गरेर यतिबेला सामाजिक सञ्जालमा कसैको छविमा आँच आउने खालका श्रव्यदृश्य सामग्री देखिएकाले यसलाई व्यवस्थापन गर्न निर्वाचन आयोगले मेटा, टिकटकलगायत सामाजिक सञ्जालसँग सम्झौता गर्न लागेको जानकारी दिए ।
आयोगका सचिव कृष्णबहादुर राउतले निर्वाचनको आचारसंहिता पालना गर्ने र गराउनका लागि निगरानी गर्ने दायित्व सञ्चार माध्यमको हुने बताए । उनले खासगरी नेपाल टेलिभिजन, रेडियो नेपाल, राष्ट्रिय समाचार समितिलगायतका सरकारी सञ्चार माध्यमले नागरिक समक्ष सत्य र आधिकारिक समाचार सम्प्रेषणमा बढी जिम्मेवार हुनुपर्ने बताए ।
सञ्चार सचिव लक्ष्मीकुमारी बस्नेतले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा नागरिकलाई सही सूचना दिने र निर्वाचन सफल पार्न सघाउ पु¥याउन सञ्चारमाध्यमले अहम भूमिका खेल्नुपर्ने बताइन् । सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डा.महेन्द्र विष्टले सञ्चारमाध्यमले निर्वाचन आचारसंहितासँगै पत्रकारको आचारसंहिता ध्यानमा राखेर पत्रकारिता गर्न सुझाव दिए ।







