काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ अन्तर्गत जारी चुनावी प्रचारप्रसारमा कुनै पनि प्रकारको अवरोध नगर्न सम्बन्धित सबै पक्षलाई सचेत गराएको छ। आयोगका अनुसार विभिन्न राजनीतिक दल तथा उम्मेदवारबाट एकअर्काको कार्यक्रम अवरुद्ध गरिएको भन्ने गुनासो र उजुरी प्राप्त भएपछि यस्तो स्पष्ट निर्देशन जारी गरिएको हो।

आयोगले फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै दल, उम्मेदवार, कार्यकर्ता वा सर्वसाधारण कसैले पनि अन्य दल वा उम्मेदवारका जुलुस, आमसभा, कोणसभा, बैठक वा अन्य गतिविधिमा बाधा पुर्‍याउन नहुने स्पष्ट पारेको छ। चुनावी गतिविधि अनुगमनका क्रममा र सञ्चारमाध्यमबाट प्राप्त सूचनाप्रति आयोगले गम्भीर चासो व्यक्त गरेको जनाएको छ।

ADVERTISEMENT

प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा निर्वाचन आचारसंहिता, २०८२ को दफा १३(१)(ङ) अनुसार अरूको चुनावी कार्यक्रम बिथोल्न नपाइने प्रावधान रहेको उल्लेख गरिएको छ। यस्तै, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २० अनुसार उम्मेदवारी दिन, प्रचारप्रसार गर्न वा मतदान गर्नबाट कसैलाई रोक्ने वा अवरोध गर्ने कार्य दण्डनीय हुने व्यवस्था छ। उक्त कसुरमा दुई लाख रुपैयाँसम्म जरिवाना, तीन वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी प्रावधान रहेको आयोगले स्मरण गराएको छ।

ADVERTISEMENT

आसन्न निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउनु सबै सरोकारवालाको साझा दायित्व भएको उल्लेख गर्दै आयोगले कानुनविपरीत गतिविधि नगर्न पुनः आग्रह गरेको छ। आचारसंहिता उल्लंघन भएको पाइए आवश्यक कारबाही गरिने चेतावनी समेत आयोगले दिएको छ।