काठमाडौं — जल तथा मौसम विज्ञान विभागले आइतबार र सोमबार कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा पश्चिममा औसत स्थानभन्दा केही माथि तथा पूर्वमा नेपालको तराई भूभागनजिक रहेकाले वर्षा प्रणाली सक्रिय बनेको हो।

ADVERTISEMENT

आइतबार र सोमबार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। साथै, यी प्रदेशका तराई क्षेत्र र मधेश प्रदेशका एक–दुई स्थानमा पनि भारीदेखि धेरै भारी वर्षा हुन सक्ने विभागले जनाएको छ। कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रका केही स्थानमा अति भारी वर्षासमेत हुन सक्ने पूर्वानुमान गरिएको छ।

विभागले लगातारको वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने चेतावनी दिएको छ। यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र विभागको पछिल्लो मौसम सूचना नियमित रूपमा पछ्याउन आग्रह गरिएको छ।

ADVERTISEMENT

विभागका अनुसार २४ घण्टामा ५० देखि १०० मिलिमिटर वर्षा भए ‘भारी’, १०० देखि २०० मिलिमिटर वर्षा भए ‘धेरै भारी’ र २०० मिलिमिटरभन्दा बढी वर्षा भए ‘अति भारी’ वर्षा मानिन्छ।

w1-1783774398.jpgw2-1783774423.jpgw4-1783774452.jpg
w3-1783774437.jpg