काठमाडौं — तीन वर्षअघि प्रेमप्रसाद आचार्यको आत्मदाहपछि लेखिएको कविता पुनः सामाजिक सञ्जालमा भाइरल बनेपछि सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नयाँ कविता सार्वजनिक गरेका छन्।
शनिबार फेसबुकमार्फत सार्वजनिक गरिएको कवितामा मन्त्री तिमिल्सिनाले समाजमा देखिएका पीडा र निराशाका ‘आगोका लप्का’ निभाउन सरकार र आफूहरू रातदिन लागिपरेको दाबी गरेका छन्। उनले चुनौतीहरूका बीच पनि एकदिन ती आगोका लप्का निभाएरै छाड्ने विश्वास व्यक्त गरेका छन्।
प्रेमप्रसाद आचार्यको आत्मदाहपछि उनले लेखेको पुरानो कविता पछिल्ला दिनमा पुनः सामाजिक सञ्जालमा व्यापक रूपमा साझा भइरहेको बेला मन्त्री तिमिल्सिनाले नयाँ कविता सार्वजनिक गरेका हुन्।
यस्तो छ उनको कविता :
मैले भनेको थिएँ–
‘उनको शरीरमा फैलिएको आगोको एक लप्का
तिम्रो दिमागमा पनि लगाऊ
र निभाऊ सम्भावित आगोका लप्काहरू!’
र आज केही वर्षपछि
मेरो दिमागमा नि:सन्देह
एक हैन, असङ्ख्य लप्का लागेको छ
र अनेक कोणबाट सोचमग्न छु–
कसरी निभाउने सम्भावित आगोका लप्काहरू?
र कसरी बनाउने आगोका लप्का बिनाको समय?
हिजो प्रश्नमा म रोकिन सक्थेँ
तर आज, सक्दिन।
र प्रश्न हैन, जवाफ
समयले मसँग पनि मागिरहेको छ।
र, तिनै जवाफ शब्दमा हैन
कर्ममा लेख्न म बसेको छु
केही समयदेखि।
हामी जान्दछौँ–
हिजो
आगोका लप्काहरूलाई
नजरअन्दाज गरिएका कारण
समयमै ननिभाइएका कारण
आज
हामी ‘प्रश्न’को घेराबाट
‘जवाफ’को कठघरामा
आइपुगेका छौँ।
र हामी
आगोका लप्काहरू निभाउन
दिनरात लागेका छौं
लागिरहनेछौँ
सेवक भएर
निभाइ छाड्नेछौँ
सबैसबै सम्भावित आगोका लप्काहरू !
यसअघि नयाँबानेश्वरको तत्कालीन संसद् भवनअगाडि प्रेमप्रसाद आचार्यले आत्मदाह गर्दा मन्त्री तिमिल्सिनाले तत्कालीन सरकारको विरोध गर्दै कविता लेखेका थिए । जसमा आचार्य जल्दा तत्कालीन सत्ताधारी शक्ति सुरक्षा घेरामा रहेको भन्दै नजलेको बिम्ब प्रस्तुत गरेका थिए ।
यस्तो थियो, तिमिल्सिनाले पहिले लेखेको कविता :






